३१ जेठ,काठमाडौं : नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सम्झौता अनुसार नेपालले आगामी शनिबार (असार १ गते) बाट बंगलादेश लाई ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु गर्नेछ।
गत वर्ष असोज १७ मा सम्पन्न उच्चस्तरीय सम्झौता पछि नेपालले पहिलो पटक १२ घण्टाका लागि बंगलादेशमा विद्युत् बेचेको थियो। तर यस वर्ष तोकिएको मितिमै नियमित रूपमा विद्युत् पठाउने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बंगलादेशले दुई साता अघि नै विद्युत् खरिदका लागि आवश्यक ‘एलसी’ (प्रतित पत्र) खोलेको छ। “सम्झौता अनुसार नै असार १ गते देखि विद्युत् पठाउने तयारी पूरा भइसकेको छ,” उनले जानकारी दिए।
सम्झौता अनुसार आगामी पाँच वर्ष सम्म हरेक वर्ष जुन १५ (असार १) देखि नोभेम्बर १५ (मंसीर सुरु) सम्म नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्नेछ।
नेपालले गत वर्ष जस्तै भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत बिजुली बंगलादेश पठाउने छ। मुजफ्फरपुरमा रहेको मिटर प्रणाली मार्फत बिजुली भारतको बेहरामपुर हुँदै बंगलादेशको भेडामारा लाइनमा पुग्ने छ।
निर्यातका लागि नेपालले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र आफ्नै सहायक कम्पनी मार्फत बनेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना बाट उत्पादित विद्युत् प्रयोग गर्ने प्राधिकरणले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्