१ साउन,काठमाडौं । यस वर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यस वर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्ष (आ.व.) २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।त्यस अघि आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकल नभएको थियो ।
सरकारले आ.व. २०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो ।
संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तर कुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदा हुँदै पनि अघिल्लो आ.व. को तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए ।
उनले भने,‘तयारी शुरु गरिसकेका छौं । चालू आ.व.मा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने छौं ।’ चालू आ.व.मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आ.व. २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो ।
त्यसै गरी २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्