९ असार ,रौतहट । मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष कमल कुमार उपाध्यायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू राम बहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्याय लाई ६ महिनाको कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवानाको फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकामा सार्वजनिक खरिद ऐन विपरीत आर्थिक अनियमितता गरिएको भन्दै मुद्दा दायर गरेको थियो। आयोगको दाबी अनुसार, “प्रभाव दैनिक” नामक पत्रिकामा एक मात्र सूचना प्रकाशित गरेर त्यस लाई अभिलेखमा राखिएको देखिन्छ, जसको भुक्तानी स्वरूप नगरपालिका कार्यालयले के एस मल्टिपर्पस प्रा.लि.लाई ३ लाख ५२ हजार ५६० रुपैयाँ प्रदान गरेको थियो।
सोही मुद्दामा संलग्न रहेका पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवलाई पनि ६ महिनाको कैद र बराबर जरिवाना सुनाइएको छ। तर, लेखापाल आसिम मियाँ अन्सारीलाई भने निर्देशन अनुसार मात्र प्रक्रिया अगाडि बढाएको र ठोस प्रमाण नपुगेको भन्दै सफाइ दिइएको छ।
कमल कुमार उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष समेत हुन्। उनलाई गत वैशाख ७ गते मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको थियो। तर, नियुक्तिको दुई दिन पछि वैशाख ९ गते अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरे पछि उनी स्वत: निलम्बनमा परेका थिए।



















आफ्नो प्रतिकृया दिनुहोस्