१२ माघ ,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाल सरकारलाई तेस्रो चरण अन्तर्गत २२३ वटा सवारी साधन औपचारिक रूपमा हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच यी सवारी साधनहरू नेपाललाई प्रदान गरिएको हो। गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन सुरक्षा र व्यवस्थापनलाई सुदृढ बनाउन भारतले अनुदान स्वरूप उपलब्ध गराउने कार्यक्रम अन्तर्गतको यो अन्तिम चरणको सहयोग हो।

निर्वाचन प्रयोजनका लागि सहयोग गर्ने यस शृङ्खलाबद्ध कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा गाडीहरू यसअघि नै नेपाल आइसकेका छन्। आज हस्तान्तरण गरिएका सवारी साधनमध्ये ५० वटा गाडी नेपाली सेनाका लागि विशेष रूपमा छुट्ट्याइएका छन्। सवारी साधनका अतिरिक्त निर्वाचन सुरक्षासँग सम्बन्धित प्रहरीका केही सामग्रीहरू प्राप्त भइसकेको र बाँकी सामग्रीहरू पनि आउने क्रम जारी रहेको जानकारी सहसचिव काफ्लेले दिनुभएको छ।

यी सवारी साधनहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित अन्य कार्यालयहरूलाई क्रमश: वितरण गरिने योजना रहेको छ। छिमेकी मुलुकको यस किसिमको लजिस्टिक सहयोगले आसन्न निर्वाचनलाई थप व्यवस्थित, सुरक्षित र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्