८ फागुन,महोत्तरी : १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा पुगॆका छन् । हिजो गिरिजास्थान बाट डोला सहित निस्किएको परिक्रमा यात्रुहरू महोत्तरीको मटिहानीमा विश्राम गरी आज बिहानै जलेश्वर प्रस्थान गरेका थिए । परिक्रमा टोली जलेश्वर पुगेर रात्रि विश्राम गरिरहेको छ ।
जलेश्वरमा परिक्रमा यात्रुहरूका लागि प्रत्येक वर्षझैँ विशेष स्वागतको तयारी गरिएको छ । स्थानीय धार्मिक संस्था, नगरपालिका तथा स्वयंसेवक समूहले भण्डारा (नि:शुल्क भोजन), विश्रामस्थल तथा धार्मिक कार्यक्रमहरूको व्यवस्था गरेका छन् ।
परिक्रमा टोली भोलि मडई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सातौँ दिन ध्रुव कुण्ड, आठौँ दिन कञ्चनवन, नवौँ दिन पर्वता, दशौँ दिन धनुषाधाम, एघारौँ दिन सत्तोषर, बाह्रौँ दिन औरही, तेह्रौँ दिन करुणा, चौधौँ दिन विसौल हुँदै पन्ध्रौँ दिन जनकपुरधाम आइपुग्ने कार्यक्रम छ ।
अन्तिम दिन जनकपुरधाम आइपुगे पछि पाँच कोशे अन्तर्गृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिनेछ ।
मिथिलाको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल र भारतका १५ विभिन्न पडाव पार गर्दै करिब १३३ किलोमिटर दूरी पैदल यात्रा गर्ने धार्मिक परम्परा हो । यस परिक्रमामा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन, साधुसन्त तथा नागा बाबाहरू सहभागी हुने गरेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्