२२ जेठ,जनकपुरधाम, (धनुषा) :नेपाली कांग्रेसका सभापति तथा पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले हालै प्रस्तुत गरिएको बजेटलाई सन्तुलित र सकारात्मक भएको बताएका छन्। बिहीबार जनकपुरधाम स्थित विमानस्थलमा सञ्चारकर्मीहरू सँग संक्षिप्त कुराकानी गर्दै देउवाले कांग्रेस–एमाले गठबन्धन सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित भएको स्पष्ट पारे।
“सरकारको कुनै पनि बजेट बाट सबै पक्ष सन्तुष्ट हुँदैनन्,” देउवाले भने, “तर वर्तमान बजेट सन्तुलनयुक्त छ र दीर्घकालीन हितका लागि सकारात्मक छ।” उनले बजेट प्रति देखिएको असन्तुष्टि स्वाभाविक भएको बताउँदै त्यस तर्फ अति ध्यान नदिन आग्रह गरे।
सभापति देउवाले कांग्रेस–एमाले गठबन्धन मजबुत रहेको र सहकार्यमा कुनै समस्या नरहेको उल्लेख गर्दै आगामी २०८४ साल सम्म सत्तागठबन्धन कायम रहने दाबी पनि गरे।
गृहमन्त्रीको राजीनामा बारे उठेका मागलाई सम्बोधन गर्दै देउवाले “राजीनामाको कुनै आधार छैन” भन्दै संसदको अवरोध अन्त्यका लागि प्रयास जारी रहेको जानकारी दिए।
राजावादी आन्दोलन प्रति टिप्पणी गर्दै उनले यस्तो आन्दोलन अब समाप्त भइसकेको जिकिर गरे। “राजावादी आन्दोलनको कुनै औचित्य छैन,” देउवाले भने, “त्यस विषयमा अब बहस गर्नुको अर्थ छैन।”




















आफ्नो प्रतिकृया दिनुहोस्