७ साउन,जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकामा बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गरिएको छ। १३ करोड ९४ लाख २७ हजार ६६१ रुपैयाँ २४ पैसा (भ्याट बाहेक) लागतमा निर्माण गरिएको सो भवनको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले गरेका हुन्।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनुषा द्वारा निर्माण गरिएको उक्त भवन बारे कार्यालयका निमित्त प्रमुख विनोद यादवले जानकारी दिँदै भवनको भुइँतल्लामा स्थानीय उत्पादन तथा खुद्रा व्यापारका लागि खुला बजारको व्यवस्था गरिएको बताएका छन्।
उनका अनुसार पहिलो तल्लामा १५ वटा व्यापारिक सटर निर्माण गरिएको छ भने दोस्रो तल्लामा डिपार्टमेन्टल स्टोरका लागि च्याम्बर कोठा, रेस्टुरेन्ट क्षेत्र र सम्मेलन हलको निर्माण गरिएको छ। सबै तल्लामा महिला तथा पुरुष शौचालय सहित सम्पूर्ण इलेक्ट्रिकल तथा स्यानिटरी जडान गरिएको उनले जानकारी दिए।

योजना अन्तर्गत सडक तथा नाला निर्माण कार्य समेत सम्पन्न गरिएको छ। सिक्स लेन होटल इन्द्रेणी लज देखि मुख्य बजार सम्म करिब ३४८ मिटर दूरीमा इन्टरलक मार्फत सडक तथा नाला निर्माण गरिएको छ भने खसी बजार तर्फ जाने बाटोमा करिब ६४० मिटर लम्बाइमा ढलान गरिएको सडक तथा नाला निर्माण गरिएको हो।




















आफ्नो प्रतिकृया दिनुहोस्