८ साउन,जनकपुर। खडेरीका कारण मधेश प्रदेशमा थप संकट सिर्जना भएको समयमा, प्रदेश सरकार राहतको रूपमा खानेपानी डिप बोरिङ जडान परियोजना शुरू गर्न थालेको छ। यस परियोजना अन्तर्गत, ऊर्जा, सिचाइ र खानेपानी मन्त्रालयले पहिलो चरणको डिप बोरिङ जडान कार्य धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–२ परशुराम तलाउस्थित मन्दिर क्षेत्रबाट आरम्भ गरेको हो।
साउने सोमवारी मेलामा आएका श्रद्धालुहरूको खानेपानी अभाव लाई ध्यानमा राख्दै यो परियोजना थालिएको हो। बिहीबार एक विशेष कार्यक्रममा प्रदेश सरकारका ऊर्जा, सिचाइ र खानेपानी मन्त्री शेष नारायण यादवको प्रमुख उपस्थितिमा मन्दिरका पुजारी राधामोहन दास द्वारा विधिपूर्वक पूजा अर्चना गरी बोरिङ कार्यको शुभारम्भ गरियो।

कार्यक्रममा स्थानीयवासीहरूले खडेरीका कारण सिचाइ र खानेपानीका समस्याहरूको बारेमा गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनीहरूले विभिन्न वडाहरूमा डिप बोरिङ जडानको माग पनि गरे। मन्त्री यादवले जनाएका छन्, “संसाधन सीमित भए पनि आवश्यकता अनुसार प्राथमिकता निर्धारण गर्दै बोरिङ जडान कार्य अघि बढाइने छ।”
मधेश प्रदेश सरकारले खडेरीका कारण यस प्रदेशलाई “सुख्खा क्षेत्र” घोषणा गरिसकेको छ भने, संघीय सरकारले पनि यसलाई “संकटग्रस्त क्षेत्र” को रूपमा घोषणा गरेको छ। तथापि, संघीय सरकारबाट कुनै विशिष्ट राहत प्याकेज अहिलेसम्म घोषणा भएको छैन।
मन्त्री यादवका अनुसार, प्रदेश सरकारले सबै वडामा डिप बोरिङ जडानको कार्य अघि बढाउने योजना तयार पारेको छ। उनले थपे, “खडेरीले सिचाइको मात्र नभएर खानेपानी आपूर्तिमा पनि गम्भीर असर पुर्याएको छ, त्यसैले हालको प्राथमिकता खानेपानीलाई दिइएको छ।”

















आफ्नो प्रतिकृया दिनुहोस्