काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन् । भेटपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै प्रचण्डले लामिछाने लाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको बताए ।
प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछाने सँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।

‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्रै लखेटिएको गुनासो उहाँको थियो,’प्रचण्डले भने, ‘अहिले पनि म सँग राख्नु भयो, सदन देखि सडक सम्म बोलेको कुरा उहाँलाई थाहा थियो, मैले त्यो दोहोर्याएँ ।’
लामिछानेले अदालतले तोकेको धरौटी राखेर मुद्दा लड्न चाहँदा पनि त्यस्तो सुविधा नपाएको भन्दै सरकार र सत्तारूढ गठबन्धनले आफूलाई अनुदार र विभेदकारी व्यवहार गरेको बताएका थिए ।
‘उहाँ माथि भएको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने चाहना हो,’ प्रचण्डले भने, ‘तर उहाँले के महसुस गर्नु भएको रहेछ भने कांग्रेस र एमालेले जसरी व्यवहार गरे, त्यसले उहाँ र उहाँको पार्टीलाई राजनीतिक रूपमा फाइदा नै पुगिरहेको देख्नु भएको रहेछ ।’ भेटमा समसामयिक राजनीतिक अवस्था बारे छलफल भएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्