१६ भदौ,वीरगन्ज। गृहमन्त्री रमेश लेखकले भारतीय सञ्चार माध्यममा आएको समाचारलाई भ्रामक र तथ्यहीन बताउँदै कडा आपत्ति जनाएका छन्।वीरगन्ज नाका मार्फत पाकिस्तानी र बंगलादेशी नागरिक भारत प्रवेश गरेको दाबीलाई अस्वीकार गर्दै उनले त्यस्ता खबर केवल भ्रम र अफवाह मात्रै भएको प्रष्ट पारे।
उनका अनुसार सो व्यक्तिहरू वास्तवमै नेपालबाट मलेसिया गएका प्रमाण नेपाल सरकारसँग रहेको छ।नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले नेपाल सरकार मित्रराष्ट्र भारत र चीनको हित विपरीत नेपाली भूमि प्रयोग हुन नदिन सजग रहेको बताए।
उनले लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएको प्रमाण नेपाल सरकार सँग सुरक्षित रहेको उल्लेख गरे। साथै, नेपाल सरकारको सहमति बिना भारत र चीनले नेपाली भूमि प्रयोग गरी गरेको व्यापारिक सम्झौता प्रति असन्तुष्टि जनाइएको जानकारी पनि उनले दिए। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राष्ट्रपति सी चिनफिङलाई उक्त विषयमा औपचारिक आपत्ति जनाएको उनको भनाइ थियो।
मन्त्री लेखकले लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग भएको तथ्यलाई अघि सारेको कारणले मित्रराष्ट्रहरू सँगको सम्बन्ध प्रभावित नहुने दाबी गरे। साथै, नेपाल कुनै पनि मुलुक सँग सैन्य एकता वा समितिमा सहभागी नहुने स्पष्ट पार्दै मुलुकको स्वतन्त्र नीति कायम रहने दोहोर्याए।




















आफ्नो प्रतिकृया दिनुहोस्