बिरगंज : काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका बिरगंज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमलाई शनिबार विहान भावपूर्ण वातावरणमा अन्त्येष्टि गरिएको छ ।
शुक्रबार राति काठमाडौंबाट घर ल्याइएको आलमको शवलाई बिहान जनाजा(शवयात्रा) सहित मुर्ली पोखरी नजिकको मुस्लिम कब्रिस्तानमा मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।अन्त्येष्टि कार्यक्रममा हजारौँ स्थानीयवासी, जेन–जी आन्दोलनका युवा प्रतिनिधि, मुस्लिम तथा हिन्दू समुदायका नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

पूर्व-वडाध्यक्ष तुफान अन्सारी सहित सहभागीहरूले आलमको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।दुई महिनाअघि मात्रै वैवाहिक जीवनमा बाँधिएका आलम काठमाडौंमा स्नातक अध्ययन गर्दै पठाओ राइडरको रूपमा रोजगारीमा संलग्न थिए ।
मंगलबारको प्रदर्शनका दिन यात्रु लिएर गोङ्गबु जाँदै गर्दा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको परिवारले जनाएको छ । पेट र छातीमा गोली लागेका आलम मंगलबार बिहान सम्पर्क विहीन बनेका थिएभने उनको शव काठमाडौँको शिक्षण अस्पताल, महाराजगञ्जमा फेला परेको थियो ।

वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ पास गरेका आलम उच्च शिक्षा सँगै पार्ट–टाइम काम गरेर परिवारलाई सहयोग गर्दै आएका थिए ।यस घटनाले वीरगन्ज सहित देशभर शोक, आक्रोश र चिन्ताको वातावरण सिर्जना गरेको छ । स्थानीयवासी र सामाजिक अभियन्ताहरूले निर्दोष नागरिकको मृत्यु बारे निष्पक्ष र न्यायिक छानबिनको माग गरेका छन् ।
आलमलाई राष्ट्रिय झण्डा सहित गरिएको अन्त्येष्टि GEN-Z आन्दोलनको भावनात्मक र सामाजिक प्रभावको प्रतीकका रूपमा लिइएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्