काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नेपाललाई दिगो ऊर्जा प्रयोग तर्फ लैजान ट्रान्सपोर्ट र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनु पर्ने बताएका छन्।
आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसन उदघाटन गर्दै उनले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा रूपान्तरण अपरिहार्य भएको स्पष्ट पारे।
उनका अनुसार सार्वजनिक यातायात देखि निजी सवारी साधन सम्म सबैलाई चरणबद्ध रूपमा विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको योजना छ। “देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टलाई बिजुलीमा रूपान्तरण गर्नु पर्छ। यसले पेट्रोल र डिजेल आयात कम गर्छ र राष्ट्रको रिजर्भ बढाउँछ,” मन्त्री घिसिङले भने।

कुकिङ सेक्टरमा पनि एलपी ग्यासको विकल्पका रूपमा बिजुली प्रयोग गर्नु पर्नेमा उनले जोड दिए। “ग्यासलाई रिप्लेस गरेर इनर्जी ट्रान्जिसनमा जानु अनिवार्य छ। धेरै क्षेत्रमा फ्युल र कोइलोलाई बिजुलीले प्रतिस्थापन गर्न सक्छ,” उनको भनाइ थियो।
मन्त्री घिसिङले नेपालमा उत्पादन भइरहेको जलविद्युतलाई सबै क्षेत्रमा प्रयोग गर्न सके दिगो ऊर्जा खपत सम्भव हुने धारणा राखे। साथै, ग्रीन हाइड्रोजन, औद्योगिक उत्पादन र इँटा उद्योगमा समेत विद्युतीय प्रविधि अनिवार्य हुनेमा उनले जोड दिए।
“नेपालको कार्बन उत्सर्जन विश्वमा निकै न्यून भए पनि हामी कार्बन न्यूट्रल मात्र नभई कार्बन नेगेटिभ तर्फ जानु पर्छ। त्यसका लागि चार्जिङ स्टेशनजस्ता पूर्वाधार विस्तार गर्न जरुरी छ,” उनले स्पष्ट पारे।उनले आगामी दिनमा नेपालको ऊर्जा भविष्य उज्यालो हुने दाबी गर्दै भने, “हाम्रै जलविद्युतले सम्पूर्ण क्षेत्रलाई प्रकाशमान बनाउनेछ।”




















आफ्नो प्रतिकृया दिनुहोस्