काठमाडौं । असोज १७ देखि १९ गते सम्मको अविरल वर्षाबाट तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन्।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका आयोजना र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन आयोजना बाढीको असरमा परेका हुन्।

इलाममा सबैभन्दा ठूलो क्षति
सबैभन्दा बढी क्षति कोशी प्रदेशको इलाम जिल्लामा भएको छ। जिल्लामा मात्रै १५ वटा सञ्चालनमा रहेका जलविद्युत आयोजना बन्द भएका छन्। तीमध्ये ४.५ मेगावाटको माईखोला, २२ मेगावाटको सानिमा माई, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ७.६ मेगावाटको जोगमाई खोला, ९.९ मेगावाटको माथिल्लो माई लगायतका आयोजना रहेका छन्।
इलाम बाहेक पाँचथरको हेवाखोला (१४.९ मेगावाट) र बागमती प्रदेशको लिखु–४ (५२.४ मेगावाट) पनि प्रभावित भएका छन्। हाल लिखु–४ बाहेक अन्य सबै आयोजनाको उत्पादन बन्द छ।

निर्माणाधीन आयोजना थप जोखिममा
निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये धेरैजसोमा पहुँचमार्ग बगाउँदा ठूलो क्षति भएको छ।मनाङको ४९.९५ मेगावाट क्षमताको दाना खोला आयोजनाले बनाएको १२ किलोमिटर सडकका धेरै ठाउँमा पहिरो गएको छ।
इलामको १० मेगावाट क्षमताको सिद्धिखोला आयोजनाले १० दिन भित्र उत्पादन सुरु गर्ने तयारी गरेकोमा बाढीले क्षति पुर्याउँदा मिति पर सरेको छ। पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला आयोजनाको सामग्री र उपकरण नै बगाएको छ।
सिन्धुपाल्चोकमा ब्रम्हायणी (३६.५१ मेगावाट), माथिल्लो ब्रम्हायणी (१५.१५ मेगावाट), बलेफी (४० मेगावाट) र तल्लो बलेफी (२२.५ मेगावाट) लगायतका आयोजनाको पहुँचमार्ग बगाएको छ। यसैगरी रसुवाको लाङटाङ खोला, भोजपुरको इर्खुवा खोला, म्याग्दीको माथिल्लो ठूलो खोला, लमजुङको हिडी खोला, रामेछापको खिम्ति–२ र धादिङको गसाली खोला आयोजना पनि क्षतिग्रस्त भएका छन्।
पूर्व-सूचना प्रणालीले मानवीय क्षति रोकियो
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार यस वर्ष जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा बाढीको पूर्वसूचना पाउने व्यवस्था भएकाले मानवीय क्षति न्यून राख्न सकिएको छ। उनका अनुसार, आवश्यक पूर्वतयारीकै कारण भारी वर्षाको तुलनामा भौतिक क्षति पनि अपेक्षाकृत कम भएको छ।
इप्पानले भने प्रभावित आयोजनासम्म पुग्ने बाटो अझै अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन केही समय लाग्ने जनाएको छ।

















आफ्नो प्रतिकृया दिनुहोस्