२७ माघ ,जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानका क्रममा मधेश यात्रामा निस्किएका छन् ।मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको यात्रा अन्तर्गत बालेनले सप्तरीबाट यात्रा प्रारम्भ गर्दै सिरहा, धनुषा हुँदै महोत्तरी सम्म पुग्ने कार्यक्रम रहेको छ ।
उनले सप्तरी हुँदै सिरहाको औरही, गोलबजार, पुरानो चौक चोहर्वा र नयाँ चौक–चोहर्वा मार्ग पार गर्दै कल्याणपुर तर्फ प्रस्थान गरेका थिए ।कल्याणपुर पछि उनले सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अवलोकन गरेका थिए । त्यस पछि धनुषाको शहीदनगरको यद्दुकोहा, धनुषाधाम हुँदै जनकपुर पुगेका थिए । यद्यपि जनकपुरमा तय गरिएको केही कार्यक्रम स्थगित गरी उनी सिधै महोत्तरीको जलेश्वर पुगेका थिए ।

जलेश्वर पुगे पछि उनले जलेश्वरनाथ महादेव मन्दिर बाहिरबाट दर्शन गरेका थिए । त्यसपछि उनी आफ्नो पुर्ख्यौली गाउँ महोत्तरीको एकडाँडा गाउँपालिका वडा नम्बर २ एकडाँडा पुगेका हुन् ।
यात्राका क्रममा विभिन्न स्थानमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका थिए ।सो क्रममा सिरहाको गोलबजारमा आयोजित भेटघाट कार्यक्रममा उनले सुशासन, भ्रष्टाचार विरुद्धको अभियान तथा मधेशको समग्र विकास प्रति पार्टी प्रतिबद्ध रहेको बताए ।
“मधेश ठूलो सम्भावना बोकेको क्षेत्र भए पनि कमजोर शासन व्यवस्था र भ्रष्टाचारका कारण अपेक्षित विकास हुन सकेको छैन,” शाहले भने, “रास्वपा मधेशका जनताको वास्तविक समस्या समाधान गर्न प्रतिबद्ध छ ।”
यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गरेका छन् ।
रास्वपाको संगठन विस्तार र मधेशका जनअपेक्षा बुझ्ने लक्ष्य सहित आयोजना गरिएको यो यात्रालाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । बालेन शाहको मधेश यात्रा प्रति स्थानीयस्तरमा उल्लेख्य चासो र उत्साह देखिएको छ भने सिरहा र धनुषा क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्