२७ माघ : सिरहा कारागार भित्र नाइकेको गिरफ्तारीलाई लिएर सुरु भएको विवादले उग्र रूप लिए पछि कारागार परिसर दिनभर तनावपूर्ण बनेको छ। कारागार भित्र अराजक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई नियन्त्रणमा लिए पछि उनका समर्थक कैदीबन्दीहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका हुन्। सोही क्रममा कैदीबन्दीहरूले कारागारभित्रका भौतिक संरचनाहरूमा व्यापक तोडफोड गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो।

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा कारागारभित्र बाट अकल्पनीय रूपमा गोली र ठूलो परिमाणमा अवैध नगद रकम समेत फेला परेको छ, जसले कारागारको आन्तरिक सुरक्षा र व्यवस्थापन माथि गम्भीर प्रश्न खडा गरिदिएको छ। नाइके यादवको पक्राउको विरोधमा उत्रिएका बन्दीहरूले कारागार भित्र आगजनी गरे पछि धुवाँको मुस्लो बाहिरै सम्म देखिएको थियो भने भित्रको अवस्था निकै भयावह बनेको थियो।
घटना लगतै जिल्लाबाट थप सुरक्षाकर्मीको टोली परिचालन गरी कारागार क्षेत्रलाई कडा निगरानीमा राखिएको छ। प्रहरीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको भए पनि कारागारभित्र अझै त्रास र तनावको वातावरण कायमै छ। सुरक्षा निकायले बरामद गरिएको गोली र नगदको स्रोतबारे सुक्ष्म अनुसन्धान सुरु गरेको छ भने थप हिंसा भड्किन नदिन कारागारको सुरक्षा व्यवस्थालाई अत्यन्त चुस्त बनाइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्