Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ७, २०८३
In विशेष खबर
0

जनकपुर खबर | २३ नोभेम्बर २०२६, काठमाडौं

भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलगायतले स्वागत गर्नुभयो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्म भएको भ्रमण प्रधानमन्त्री शाहले पदभार ग्रहण गरे पछिको पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उहाँलाई नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नु भयो भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको थियो। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाह सँग भेटवार्ता गर्नु भएको थियो।

नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच उच्चस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, आपसी हितका क्षेत्रीय विषय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारे छलफल भएको थियो। दुवै नेताले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई आर्थिक र विकास साझेदारी सँग जोड्दै आगामी दिनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारत द्वारा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता

भ्रमणको सबैभन्दा महत्वपूर्ण आर्थिक घोषणा मध्ये भारतले नेपाललाई कुल २४ हजार करोड नेपाली रुपैयाँ अर्थात् करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको विषय रहेको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई सहयोग पुर्‍याउने उद्देश्य सहित उक्त सहायता प्याकेज घोषणा गर्नु भएको हो।

उक्त रकम मध्ये भारतीय रुपैयाँ ३ हजार ५०० करोड अर्थात् नेपाली रुपैयाँ ५ हजार ६०० करोड विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान स्वरूप उपलब्ध गराइने छ। त्यस्तै, भारतीय रुपैयाँ ११ हजार ५०० करोड अर्थात् नेपाली रुपैयाँ १८ हजार ४०० करोड ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) का रूपमा प्रदान गरिनेछ।

यसरी घोषित कुल सहायता रकममा अनुदान र ऋण दुवै समावेश छन्। कुन–कुन परियोजनामा रकम परिचालन गर्ने, सहायता उपलब्ध गराउने प्रक्रिया र कार्यान्वयनको ढाँचा भने दुवै देश बीच आपसी परामर्शबाट अन्तिम रूप दिइने संयुक्त वक्तव्यमा उल्लेख छ। नेपालका लागि भारतले घोषणा गरेको यो हाल सम्मकै ठूलो विकास सहायता प्याकेज भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जनकपुर–अयोध्याबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा शुभारम्भ

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई जनकपुरधाम र समग्र मिथिला क्षेत्रका लागि विशेष चासोको विषय बनाएको अर्को महत्वपूर्ण उपलब्धि जनकपुर–अयोध्या रेल सेवा हो। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य सहित दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन गर्नु भएको छ।

रामायण सर्किटसँग जोडिएका यी दुई ऐतिहासिक धार्मिक सहर बीच प्रत्यक्ष रेल सम्पर्क विस्तार हुनु धार्मिक पर्यटन तथा दुई देशका नागरिक बीचको आवागमनका दृष्टिले महत्वपूर्ण मानिएको छ। जनकपुरधाम स्थित जानकी मन्दिर र अयोध्या स्थित राम मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीलाई सहजता प्रदान गर्नुका साथै यसले मिथिला क्षेत्रको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र रोजगारीका सम्भावनालाई विस्तार गर्ने अपेक्षा गरिएको छ।

संयुक्त दृष्टिकोणपत्रमा जनकपुर–अयोध्यालाई रामायण सर्किटअन्तर्गत जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विषय समेत समेटिएको छ। यसका अतिरिक्त लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगरलाई जोडेर बौद्ध पर्यटन सर्किट तथा पशुपतिनाथ–वाराणसीलाई जोडेर शिव–शक्ति पर्यटन सर्किट विकास गर्ने विषयमा पनि दुवै देश सहमत भएका छन्।

दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुल उद्घाटन

भ्रमणका क्रममा नेपाल र भारतबीचको भौतिक सम्पर्क विस्तारतर्फ अर्को महत्वपूर्ण उपलब्धिका रूपमा महाकाली नदी माथि निर्माण गरिएको दार्चुला–भारतको धार्चुला जोड्ने नयाँ मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ। यसले पश्चिम नेपालको भारतसँगको प्रत्यक्ष आवागमन, सीमापार व्यापार तथा स्थानीयस्तरको सम्पर्कलाई सहज बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन्। सीमावर्ती क्षेत्रमा व्यापार, भन्सार प्रक्रिया तथा यात्रु आवागमन व्यवस्थित बनाउने उद्देश्यले यी पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमति भएको छ।

रेल सम्पर्क विस्तार अन्तर्गत रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि भारतले सहकार्य गर्ने भएको छ। विशेषगरी बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ रेल सम्पर्कलाई प्राथमिकता दिँदै नेपाल–भारतबीच अन्तर सम्बन्धित रेल सञ्जाल विकास गर्ने विषय संयुक्त दृष्टिकोणपत्रमा उल्लेख छ। जयनगर–बर्दिबास तथा जोगबनी–विराटनगर रेलमार्गका बाँकी खण्डको निर्माण कार्यसमेत छिटो सम्पन्न गर्ने सहमति भएको छ।

हवाई मार्ग र बन्दरगाहसम्म नेपालको पहुँच विस्तार

हवाई सम्पर्क विस्तारका लागि हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फी बनाउने सहमति भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श गरी सञ्चालनको प्रक्रिया टुङ्ग्याइने संयुक्त वक्तव्यमा उल्लेख छ।

नेपालको वैदेशिक व्यापार तथा पारवहन सुविधालाई थप सहज बनाउन भारतको गुजरात स्थित दीनदयाल बन्दरगाह (काण्डला) सम्म पहुँच उपलब्ध गराउने घोषणा गरिएको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिने भएको छ। यसले समुद्री मार्गबाट हुने नेपालको आयात–निर्यात व्यापारमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

ऊर्जा र जलस्रोतमा नयाँ सहकार्य

ऊर्जा क्षेत्रलाई नेपाल–भारत सम्बन्धको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विषयमा पनि दुवै प्रधानमन्त्री बीच सहमति भएको छ। भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ। भारतीय कम्पनीको सहभागितामा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा पनि जोड दिइएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिएर कार्यान्वयन प्रक्रिया अघि बढाउन पञ्चेश्वर विकास प्राधिकरण तथा संयुक्त जलस्रोत समितिलाई निर्देशन दिइएको छ। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माणलाई समेत तीव्रता दिने सहमति भएको छ। यी परियोजनाबाट जलस्रोतको उपयोग, ऊर्जा उत्पादन तथा बाढीको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालको विद्युत् प्रसारण क्षमता विस्तारका लागि इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइन निर्माणसम्बन्धी संयुक्त लगानी कम्पनी गठनको प्रगतिलाई पनि दुवै पक्षले स्वागत गरेका छन्।

त्यस्तै, सौर्य ऊर्जादेखि भूमिगत स्रोतसम्मका वैकल्पिक ऊर्जा विकासमा सहकार्य गर्ने तथा नेपालमा हरित हाइड्रोजनसम्बन्धी परीक्षण परियोजना सञ्चालन गर्ने विषय पनि संयुक्त दृष्टिकोणपत्रमा समेटिएको छ।

पेट्रोलियम पाइपलाइन र औद्योगिक विकास

नेपालको पेट्रोलियम आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना नेपाली जनतालाई समर्पण गरिएको छ। साथै झापामा नयाँ पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। भारतको सिलिगुडीदेखि नेपालको झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण कार्य शीघ्र सुरु गर्ने विषयमा पनि जोड दिइएको छ। नेपाल–भारतबीच प्राकृतिक ग्यास पाइपलाइन निर्माणको सम्भावना अध्ययन गर्ने सहमति समेत भएको छ।

औद्योगिक विकासतर्फ भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने भएको छ। यस पार्कमार्फत नेपाली कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीमावर्ती क्षेत्रमा निर्यातमुखी उत्पादन उद्योगका लागि विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्क स्थापना गर्ने र सूचना प्रविधि पार्क विकासमा सहकार्य गर्ने विषय पनि अघि सारिएको छ।

शिक्षा, प्रविधि र डिजिटल अर्थतन्त्रमा सहकार्य

शिक्षा तथा सीप विकासका क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा क्याम्पस स्थापना गर्ने सहमति भएको छ। यसका साथै नेपाली युवाका लागि कानुन, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता लगायत नयाँ विषयमा छात्रवृत्ति र तालिमका अवसर विस्तार गर्ने विषय पनि समेटिएको छ। भारतको सहयोगमा नेपालमा व्यावसायिक सीप तथा तालिम संस्थान स्थापना गर्ने सहमति भएको छ।

प्रविधि तथा डिजिटल अर्थतन्त्रको विकासका लागि नेपालमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने र पोखरामा डिजिटल नोमाड तथा नवप्रवर्तन केन्द्र विकास गर्ने योजना संयुक्त दृष्टिकोणपत्रमा उल्लेख छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सहकार्य गर्दै नेपाली भाषाका लागि ठूलो भाषा मोडेल (लार्ज ल्याङ्ग्वेज मोडेल) विकास गर्ने विषय पनि प्राथमिकतामा परेको छ।

यसका साथै डिजिटल पार्क, डाटा सेन्टर, अन्तरिक्ष प्रविधि, भू–उपग्रह विकास तथा विपद् व्यवस्थापनमा रिमोट सेन्सिङ प्रविधिको उपयोगमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल र भारतबीच युपीआई तथा नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीचको सम्बन्धलाई थप उपयोग गर्दै सीमापार खुद्रा भुक्तानी प्रणाली कार्यान्वयनलाई तीव्रता दिने विषय पनि अघि बढाइएको छ।

खेलकुद, स्वास्थ्य र कृषि क्षेत्रमा नयाँ पहल

दुई देशबीच खेलकुद क्षेत्रको सहकार्य विस्तार गर्ने क्रममा नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने भएको छ। राष्ट्रिय तथा प्रदेशस्तरमा क्रिकेट पूर्वाधार विकास र नेपाली खेलाडीलाई भारतीय प्रशिक्षण केन्द्रमा अभ्यासको अवसर उपलब्ध गराउने विषयमा सहमति भएको छ। ब्याडमिन्टन, टेनिस, सुटिङ तथा एथलेटिक्सलगायतका खेलमा पनि सहकार्य विस्तार गर्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्य क्षेत्रमा नेपालका स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पतालको पूर्वाधार विकासमा सहकार्य जारी राख्ने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गर्ने तथा सुलभ औषधिको पहुँच विस्तार गर्न नेपाल–भारत जनऔषधि केन्द्र स्थापना गर्ने विषय समेटिएको छ। स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा चिकित्सा अनुसन्धानमा समेत दुवै देशबीच सहकार्य बढाइने भएको छ।

कृषि तथा पशुपालन क्षेत्रमा सन् २०२६ देखि २०३० सम्मको कृषि अनुसन्धानसम्बन्धी कार्ययोजना कार्यान्वयनलाई तीव्रता दिने तथा किसान, पशुपालक र कृषि प्राविधिकका लागि तालिम सञ्चालन गर्ने सहमति भएको छ।

आठवटा समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदान प्रदान भएका छन्। ती समझदारीपत्रमा राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय भारत र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग बीच शैक्षिक तथा अनुसन्धान सहकार्य, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य तथा सरकारी कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषय समेटिएका छन्।

यसैगरी आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दक्षिण एसिया भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल–भारत सम्बन्धका पुराना सम्झौता पुनरावलोकनको विषय पनि अघि

भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई वर्तमान राजनीतिक, आर्थिक तथा प्राविधिक आवश्यकता अनुसार अघि बढाउन विद्यमान कानुनी तथा संस्थागत संरचनाको पुनरावलोकन गर्ने विषय समेत उठाइएको छ। सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने संयुक्त दृष्टिकोणपत्रमा उल्लेख छ।

सीमा, जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्यसँग सम्बन्धित बाँकी विषयलाई आपसी छलफल र संवादबाट समाधान गर्ने सहमति भएको छ। सीमास्तम्भको मर्मत तथा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यको प्रगतिलाई पनि दुवै पक्षले स्वागत गरेका छन्।

त्यस्तै, जलवायु परिवर्तन, प्राकृतिक विपद् व्यवस्थापन, बाढीको पूर्वसूचना प्रणाली तथा हिमतालको अनुगमनमा वास्तविक समयमै तथ्याङ्क आदान प्रदान गर्ने सहमति भएको छ। यसले नेपालमा बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारत भ्रमण टोलीसहित प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा परराष्ट्र सचिव अमृतबहादुर रायलगायत सहभागी हुनुहुन्थ्यो।

भ्रमणको अन्त्यमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। मोदीले निमन्त्रणा स्वीकार गर्नुभएको र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त वक्तव्यमा उल्लेख छ।

समग्रमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई आर्थिक, पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा तथा सांस्कृतिक साझेदारीका नयाँ क्षेत्रमा विस्तार गर्ने आधार तयार गरेको छ। विशेषगरी २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता, जनकपुर–अयोध्या रेल सेवा, दार्चुला–धार्चुला पुल, ऊर्जा परियोजना र व्यापारिक पारवहन विस्तारका सहमतिले भ्रमणलाई महत्वपूर्ण बनाएका छन्।

यद्यपि भ्रमणका क्रममा भएका घोषणा र समझदारीको वास्तविक उपलब्धि तिनको प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ। विशेषगरी जनकपुर–अयोध्या रेल सेवालाई नियमित, सहज र सर्वसाधारणको पहुँचमा सञ्चालन गर्न सके मिथिला क्षेत्रको धार्मिक पर्यटन, स्थानीय अर्थतन्त्र र नेपाल–भारतबीचको जनस्तरको सम्बन्धमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३
विशेष खबर

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३
विशेष खबर

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३
विशेष खबर

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३
विशेष खबर

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता

मंसिर ७, २०८३

भारतसँगको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, सम्बोधनको पूर्णपाठ सहित

मंसिर ७, २०८३

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदी बीच औपचारिक भेटवार्ता सुरु

मंसिर ७, २०८३

राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भव्य स्वागत, भारतीय सेनाद्वारा गार्ड अफ अनर प्रदान

मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकर बीच शिष्टाचार भेटवार्ता

मंसिर ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend