काठमाडौं : दुई दिवसीय पृतनापति समन्वयात्मक बैठक जंगी अड्डामा सुरु भएको छ ।भाद्र २१ र २२ गते सञ्चालन हुने बैठकको उद्घाटन मन्तव्य राख्दैँ उपप्रधान मन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा आयोजित कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र चुनौतीहरुको पहिचान गरी समाधान गर्न मद्दत पुग्ने विश्वास लिएका छन् ।

खड्काले संविधानत : राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्न नेपाली सेनाले अन्य सुरक्षा निकायहरुसँग चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन गर्दै आएको बताए ।

उनले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना लगायत विभिन्न सडक करिडोरहरुको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकतासँग जोडिएको भन्दै गुणस्तरीय ढंगले निर्धारित समयमा सम्पन्न गर्न रक्षा मन्त्रालय लगायत सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए ।समन्वयात्मक बैठकमा सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम भएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्