०७ पौष,काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् ।गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारण सभा लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राख्नु भएको हो ।
अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताए । सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उनले भने,‘अहिले क्रिकेटमा देश भरि युवाहरुमा निकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फ बाट प्रधानमन्त्री हुँदा होस् वा विपक्षी दलको नेताहरुको रुपमा क्रिकेटको विकासका लागि धेरै मेहनत गरेको छु । क्रिकेटको विकास गरेर त्यस मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउन र आर्थिक रुपमा देश लाई गतिशील बनाउन खेल क्षेत्रको विकासमा ध्यान दिनै पर्छ ।’
आफू लाई गोरखाका जनताले मत दिएर जिताए पछि नै तेस्रो कार्यकाल का प्रधानमन्त्री बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस पछि नै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्ग चित्र कोर्ने अवसर पाएको बताए।
आफूले प्रधानमन्त्रीको रुपमा गोरखाको विकासका लागि बजेट विनियोजन देखि योजनाको प्राथमिकीकरणमा सक्दो प्रयास गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको रुपमा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान नपाए पनि अब अलिबढी नै जोडिने सोंच बनाएको बताए ।
अध्यक्ष प्रचण्डले गोरखा सँग जोडिएका धेरै राष्ट्रिय स्तरका परियोजना लाई अघि बढाउन पनि आवश्यक रहेको बताए । आफू प्रधानमन्त्री हुँदा जडीबुटी उद्योग, रुग्न उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अघि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालनलगायतका ठूलो परियोजना अघि बढाउन पहल अघि बढाएको र आगामी दिनमा परिणाम आउने गरी काम गर्नु पर्ने उनले स्पष्ट पारे ।
तर, अहिलेको सरकारले त्यसलाई अगाडि बढाउने भन्दा पनि सरकारी उद्योगहरु लाई निजीकरण तर्फ लैजाने षड्यन्त्र सुरु गरेकाले यस प्रति पनि सजग हुनु पर्ने आवश्यकता रहेको उनले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्