५ चैत्र, काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले राजा-महाराजालाई इतिहासको विषय बनाइसकेको बताएका छन्।
मंगलबार २७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मूर्खता गर्न नहुने चेतावनी दिए। संविधानमाथि प्रश्न उठाउने प्रयास लाई ‘दुश्साहस’ को संज्ञा दिँदै उनले यस्ता कार्य भए ठूलो मूल्य चुकाउनु पर्ने बताए।

‘नेपालको संविधानले इतिहासमा पहिलो पटक जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ। यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धि हो। यसले जनताको सार्वभौम अधिकार राजा महाराजा वा तानाशाह बाट खोसेर जनतामै स्थापित गरेको छ,’ दाहालले भने। ‘तर अहिले केही मानिसहरू यस माथि प्रश्न उठाउने प्रयास गर्दैछन्। राजा-महाराजा लाई नेपाली जनताले इतिहासको पानामा सीमित गरिसकेका छन्। संविधान माथि पुनः आक्रमण गरियो भने त्यसको ठूलो मूल्य चुकाउनु पर्ने छ।’
दाहालले लामो संघर्ष र बलिदान पछि संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको उल्लेख गर्दै नयाँ संविधान त्यसैको प्रतिफल भएको बताए।
उनले सांस्कृतिक अभियानको माध्यमबाट सुरु भएको यो संयुक्त प्रक्रिया लाई पार्टीगत रूपमा बलियो बनाउने प्रतिवद्धता जनाए। ‘हामीले यो अभियान लाई अन्तिम बिन्दुमा पुर्याउनु नै पर्छ। क्रान्तिकारी माओवादी धाराहरू, जो वैज्ञानिक समाजवाद प्रति इमान्दार छन्, छिट्टै एकताबद्ध हुने छन्। त्यसका लागि म आफ्नो भूमिकामा इमान्दार भएर लाग्ने छु,’ उनले भने।
दाहालले आजको कार्यक्रमले नयाँ एकताको संकेत गरेको बताउँदै पुनः ध्रुवीकरणको संकल्प लिने समय आएको उल्लेख गरे।
आफ्नो प्रतिकृया दिनुहोस्