९ साउन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको उद्देश्य जनताको आवाज सुन्नु, चाहना पूरा गर्नु र सुशासन मार्फत समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका छन्।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विगतको अभिशप्त इतिहासलाई परिवर्तन गरी आशा, समृद्धि र समानताको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरे।

“इतिहासका अनेक कालखण्ड पार गर्दै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ,” उनले भने, “यस प्रणालीको सार जनताको आवाज सुन्ने, जनचाहना पूरा गर्ने र सुशासन मार्फत आर्थिक समृद्धि ल्याउनु हो। निराश हुनु पर्ने अवस्था छैन, हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौँ।”
राष्ट्रपतिले वीर पूर्खाहरूको त्याग, बलिदान र दूरदर्शिताले नै वर्तमानको जग तयार भएको भन्दै त्यसको मूलबाटोमै हामी अघि बढ्नु पर्ने बताए। उनका अनुसार नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षा गर्ने अभियानमा भीमसेन थापाको योगदान अतुलनीय रहेको छ।
“थापाको राष्ट्रप्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताका कारण नेपाल स्वतन्त्र र अटल रहन सक्यो,” राष्ट्रपति पौडेलले स्पष्ट पारे, “उनले आर्थिक, सैनिक, प्रशासनिक र सामाजिक सुधारमार्फत राष्ट्रको हितमा अमूल्य योगदान दिए।”
त्यस अवसरमा राष्ट्रपति पौडेलले कुटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको ‘भीमसेन थापा पुरस्कार’ प्रदान गरे।
आफ्नो प्रतिकृया दिनुहोस्