१३ साउन, लन्डन ।बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायले आफ्ना धार्मिक र सांस्कृतिक पहिचान जोगाउँदै धार्मिक केन्द्रहरूको स्थापना र सञ्चालनमा सक्रियता देखाइरहेका छन्। दक्षिण–पूर्व लन्डनको प्लमस्टेड स्थित पशुपतिनाथ मन्दिर त्यसको ज्वलन्त उदाहरण बनेको छ। साउन महिनाको आगमनसँगै यहाँ विशेष पूजा–अर्चना, भजन–कीर्तन र धार्मिक प्रवचनहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
बेलायतमा स्थापित पहिलो नेपाली हिन्दू मन्दिरको रूपमा चिनिने यस मन्दिरमा विशेष गरी साउनको सोमबार र अन्य पर्वहरू—जनै पूर्णिमा, तीज, दशैं र महाशिवरात्रिमा हजारौँ भक्तजनको उपस्थिति देखिन्छ। नेपाली समुदायको ठूलो उपस्थिति रहेका अल्डरसट, बर्मिङ्घम, वेम्ली लगायतका स्थान बाट समेत भक्तजन यहाँ पूजाका लागि आउने गरेका छन्।

मन्दिरमा दैनिक आरती र भजन–कीर्तन भइरहने र प्रत्येक महिनाको अन्तिम आइतबार प्रवचन समेत हुने पण्डित निलहरी घिमिरेले जानकारी दिए। हाल बेलायतमा बसोबास गरिरहेका घिमिरेका अनुसार साउनको सोमबारको व्रतलाई विशेष पुण्यदायी मानिन्छ र त्यस अनुसार मन्दिरमा दोस्रो साता सामूहिक पूजाको तयारी भइरहेको छ।
उनले भने, “साउनको सोमबार व्रतको धार्मिक महत्व निकै ठूलो छ। यस व्रतले वर्षभरिका पापकर्म नाश हुने विश्वास गरिन्छ।” उनका अनुसार बेलायतमा राम, राधाकृष्ण र स्वामी नारायणका मन्दिरहरू पनि छन्, तर भक्तजनको सर्वाधिक चहलपहल प्लमस्टेड स्थित पशुपतिनाथ मन्दिरमै हुने गरेको छ।

“बेलायतमा अहिले सबैभन्दा बढी चाप यही मन्दिरमा देखिन्छ,” उनले भने, “शिवरात्रि, जनै पूर्णिमा र तीजजस्ता पर्वमा टाढाटाढाबाट पनि हजारौँ भक्तजन आउनुहुन्छ। नेपालीहरू जहाँ पुगे पनि यस्तो धार्मिक थलोको आवश्यकता महसुस गर्छन्।”
उनको भनाइमा, मन्दिरले विशेषगरी नयाँ पुस्तालाई पनि नेपाली भाषा, संस्कृति र धर्मप्रति अभिरुचि जगाउन सघाएको छ। “थाइल्यान्डको अनुभवलाई आधार मानेर बेलायतमा मन्दिर स्थापना गरिएको हो। जहाँ बालबालिकाले मन्दिरको वातावरणमा नेपाली बोल्न सिके,” उनले स्मरण गरे।

हाल पशुपतिनाथ मन्दिरको संरचना विस्तार तथा सामुदायिक हल निर्माणको आवश्यकता महसुस गर्दै अभियान अगाडि बढाउने तयारी समेत भइरहेको जानकारी पनि उनले दिए।
बेलायतको कुल जनसंख्याको करिब ४६.३ प्रतिशतले क्रिश्चियन धर्म अपनाएका छन् भने हिन्दू धर्मावलम्बीको संख्या १.८ प्रतिशत रहेको छ। यस्तो सन्दर्भमा नेपाली समुदायको धार्मिक सक्रियता उल्लेखनीय मानिएको छ।

आफ्नो प्रतिकृया दिनुहोस्