१९ साउन,मधेश प्रदेश। मध्य साउन सम्म मधेश प्रदेशमा धान रोपाइँ दर केवल ५७.२८ प्रतिशतमा सीमित भएको छ, जसले खाद्य सुरक्षामा गम्भीर जोखिम उत्पन्न गर्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।
अन्न भण्डारको रुपमा परिचित मधेशमा यस वर्षको कमजोर मनसुन र खडेरीले रोपाइँ प्रभावित बनाएको हो। गत वर्ष यसै समयमा ९५ प्रतिशत रोपाइँ सकिएको थियो। पछिल्लो केही दिनयता वर्षा सुरु भए पनि धेरै क्षेत्रमा धानको बीउ बुढो भइसकेकाले उत्पादनमा अपेक्षित सुधार नआउने नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवको भनाइ छ।
उनका अनुसार मधेशमा पर्याप्त रोपाइँ नहुनुले उत्पादनमा करिब २५ प्रतिशत सम्म गिरावट आउन सक्नेछ। यसले धान, चामल र अन्य खाद्यान्नको मूल्य वृद्धि गराउँदै कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत नकारात्मक असर पार्ने अनुमान गरिएको छ।
प्रदेश सरकारले असार २६ गतेदेखि मधेशका ८ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांक अनुसार नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत छ, जसमा धानको मात्रै योगदान ५ प्रतिशतको आसपास छ।
गत वर्ष नेपालभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो, जसमा मधेशको हिस्सा १४ लाख ८० हजार ८३० मेट्रिक टन थियो। यो सबै प्रदेश मध्ये सबैभन्दा बढी हो। गत वर्ष मधेशमा ३ लाख ७४ हजार ११७ हेक्टरमा धान खेती गरिएको थियो।




















आफ्नो प्रतिकृया दिनुहोस्