२६ भदौ,जनकपुर । नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। हालै सुरु भएको ‘Gen Z आन्दोलन’पछि सुरक्षाजन्य कारण देखाउँदै रेल सेवा रोकिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका हुन्।
उनका अनुसार आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोडका घटना बढेका कारण रेललाई क्षति नपुगोस् भनेर विशेष सुरक्षा निगरानीका बीच भारतको जयनगर स्टेशनमा सुरक्षित राखिएको छ। यसका लागि भारतीय सीमा सुरक्षा बल (SSB) सँग पनि समन्वय गरिएको झाले बताए।

“यो पटक–पटक किन्ने वस्तु होइन, अथक प्रयास पछि बल्ल सञ्चालनमा आएको नेपालको अमूल्य सम्पत्ति हो। केही दिन रोकिए पनि परिस्थिति सामान्य भएपछि रेल फेरि नियमित तालिकाअनुसार चल्नेछ,” महाप्रबन्धक झाले भने।
चाडपर्वको समयमा रेल रोकिँदा दैनिक लाखौं रुपैयाँ घाटा भएको उनको भनाइ छ। किनभने यस समयमा सामान खरिद–बिक्रीका लागि यात्रुको आवतजावत अत्यधिक हुने गर्छ।यसअघि जनकपुरधाम स्थित रेल्वे स्टेशन चोकमा रहेको भन्सार कार्यालय आगलागीमा जलेर नष्ट भएको छ।
तर रेल्वेका अन्य कार्यालय वा संरचनामा ठूलो क्षति नभएकाले सुरक्षा निकाय सक्रिय भए पछि सेवा पुन: सुरु हुने झाले स्पष्ट पारे।महाप्रबन्धक झाले नागरिकलाई संयमित रहन आग्रह गर्दै आक्रोशमा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न पनि अपिल गरेका छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्