काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले पछिल्लो समय जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलन सफल भएको दाबी गरेका छन्। उनले सो आन्दोलनको क्रममा सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुगेको भन्दै निर्वाचन आयोगका केही कार्यालय समेत प्रभावित भएको जानकारी दिए।
‘अहिले भएको विद्रोहको क्रममा सरकारी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन्। नेपाल सरकारले ती कार्यालयहरू पुन: सञ्चालनमा ल्याउने काम गरिरहेको छ,’ गृहमन्त्री अर्यालले भने।
बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले अहिलेको सरकारले गर्ने मुख्य काम आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नै भएको स्पष्ट पारे। उनले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नगर्न आग्रह गर्दै, “यो सरकारको काम नै निर्वाचन गराउने हो, यदि समयमा निर्वाचन गर्न सकेनौँ भने सरकार असफल ठहरिने छ। असफलताको दाग नलागोस् भन्ने कुरामा तयारी भइरहेको छ,” भने।

उनले निर्वाचन सम्पन्न गर्न सामाजिक सुरक्षा र आवश्यक पूर्वाधार तयार पार्नु पहिलो सर्त भएको उल्लेख गर्दै, आवश्यक कानुनी तथा भौतिक संरचना निर्माणमा सरकार सक्रिय रहेको जानकारी दिए।
त्यस्तै उनले विदेशमा रहेका नेपालीलाई पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदानको अवसर दिनु पर्नेमा जोड दिए। सर्वोच्च अदालतले यसबारे आदेश दिइसकेको धेरै वर्ष भइसकेको भन्दै अब यसलाई व्यवहारमा उतार्नु पर्ने उनको भनाइ थियो।
मतदाता नामावली र दल दर्ता सम्बन्धी प्रावधान प्रति ध्यानाकर्षण गराउँदै गृहमन्त्री अर्यालले भने, “निर्वाचन मिति घोषणा भइसके पछि नामावलीमा नाम थप गर्न नपाइने व्यवस्था छ, यसलाई अध्यादेश मार्फत संशोधन गर्नु पर्छ। नयाँ दलको दर्ता बेलैमा सम्पन्न हुनु पर्ने सूचना दिनु जरुरी छ। यस्ता व्यवस्थाले अर्को विद्रोह जन्माउन सक्छन्, त्यसैले निर्वाचन विथोल्ने कुनै कारण बन्न नदिऔँ।”
गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्दै अघि बढ्ने सरकारको तयारी रहेको पनि दोहोर्याए।




















आफ्नो प्रतिकृया दिनुहोस्