काठमाडौं । अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले प्रधानमन्त्री सुशिला कार्कीलाई कार्यकालको सफलताको शुभकामना दिँदै GEN-Z आन्दोलनसँग सम्बन्धित माग पूरा गर्न आग्रह गरेका छन् ।
भिडियो सन्देश मार्फत कालीबाबाले GEN-Z आन्दोलनमा भएको जनधनको क्षतिको छानबिन गर्न तथा भ्रष्टाचार निर्मूलका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग राखे । उनले भने, “देशमा भएको भ्रष्टाचार र आन्दोलनमा भएको क्षतिको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा ल्याउन आयोग गठन गर्नै पर्छ ।”
उनले कार्की नेतृत्वको सरकारले आगामी प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी GEN-Z पुस्ता सहित सम्पूर्ण नेपाली जनताको आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । साथै, प्रधानमन्त्री कार्की सँगै नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रहित लाई प्राथमिकता दिएर देशलाई उन्नतिको पथमा अघि बढाउन आग्रह गरे ।
कालीबाबाले भने, “मातृशक्ति, पूर्व-प्रधानन्यायाधीश तथा राष्ट्रसेवक सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले छिट्टै शान्ति कायम गर्नेछ । भ्रष्टाचार विरुद्ध कडा कारबाही गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उदाउँदो राष्ट्रका रूपमा स्थापित गर्नेछ भन्ने विश्वास लिएको छु ।”
उनले आगामी दिनमा नेपालले शान्ति, समृद्धि, आर्थिक विकास र रुपान्तरणको इतिहास निर्माण गर्ने अपेक्षा व्यक्त गर्दै सरकारलाई आधारभूत तहका नागरिक देखि अन्तर्राष्ट्रिय जगत सम्म सबैलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे ।
भदौ २३ र २४ गते भएको हिंसात्मक घटनालाई स्मरण गर्दै उनले तत्कालीन सरकारको दमनकारी व्यवहारले राष्ट्र संकटमा परेको उल्लेख गरे । कालीबाबाले भने, “त्यस्तो घटना विश्वकै इतिहासमा दुर्लभ हो । आगामी दिनमा यस्तो दु;खद स्थिति दोहोरिन नदिन सबैले शान्ति र सद्भाव जोगाउनु पर्छ ।”
साथै उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै कार्यकाल जनता प्रति समर्पित हुने विश्वास व्यक्त गरे र नेपालमा शान्ति, समृद्धि र एकताको आधार बलियो बनाउन प्रेरित हुने अपेक्षा व्यक्त गरे ।




















आफ्नो प्रतिकृया दिनुहोस्