विराटनगर ।अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर पुगे। दिउँसो विमानस्थलमा अवतरण गरेका खनालले भीआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु सरह लाइनबाट बाहिरिनुका साथै भीआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग गरे।
विमानस्थलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवीन रिजाल लगायत उद्योगी व्यवसायीहरूले मन्त्री खनाललाई स्वागत गरेका थिए।
खनालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरको भवन निरीक्षण पनि गरे। त्यहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश संरचना खारेज हुने सम्भावना नरहेको स्पष्ट पारे।
उनले भने, “अहिलको सरकार संविधान सम्मत गठन भएकाले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा छैन।”
अर्थमन्त्री खनालले मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए। पछिल्ला दिनमा फैलिएको नोटबन्दीको हल्लाबारे उनले स्पष्ट पार्दै भने, “नेपाली रुपैयाँ ५०० र १००० का नोट प्रतिबन्ध लगाउने वा नोटबन्दी गर्ने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन।”
यसै अवसरमा, खनालले २३ भदौमा इटहरीमा जेनजी आन्दोलनका क्रममा गोली लागी गम्भीर घाइते भएका मोरङको बुढीगंगा–७ का सान्तनु ढकाललाई विराट मेडिकल कलेजमा भेट गरे। उनले ढकालको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन्। अस्पतालले ढकाललाई नि:शुल्क उपचार भइरहेको जनाएको छ।
खनालले घटना बारे गहिरो अनुसन्धान भइरहेको पनि उल्लेख गरे। उनी विराटनगरका उद्योगी व्यवसायी सँग अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको निर्माण टिमले जनाएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्