२६ फागुन,काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशको सबैभन्दा ठूलो राजनीतिक शक्तिको रूपमा उदाएको छ। प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ रास्वपाले १६५ मध्ये १२५ सिट जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ।
सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिटमा विजय हासिल गरेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ८ सिट जित्दै प्रतिनिधि सभामा उपस्थिति जनाएको छ।
यस्तै, समानुपातिक तर्फको मतगणनामा पनि रास्वपाले स्पष्ट अग्रता बनाएको छ। हालसम्म प्राप्त मतअनुसार रास्वपाले ४९ लाख ८७ हजार ७०० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६ लाख ९१ हजार ७६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ७ हजार ९२३ मत प्राप्त गरेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ३९२ मत हासिल गरेको छ।
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीमा सिट प्राप्त गर्न कुनै पनि राजनीतिक दलले कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था रहेको छ। हालसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र उक्त सीमा पार गर्ने अवस्थामा देखिएका छन्।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा, जसमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा चर्चित व्यक्तित्व बालेन्द्र शाह पनि आबद्ध छन्, यस निर्वाचनमा अत्यन्त प्रभावशाली रूपमा उभिएको छ।
मतपरिणामको यही प्रवृत्ति कायम रहेमा रास्वपाले समानुपातिक प्रणालीबाट पनि करिब ६० सिट प्राप्त गर्ने अनुमान गरिएको छ। यसरी प्रत्यक्ष र समानुपातिक गरी कुल सिट संख्या करिब १८५ पुग्ने देखिएको छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत (१८४ सिट) भन्दा बढी हो।
रास्वपाको यो अप्रत्याशित सफलताले पुराना स्थापित दलहरूलाई निकै पछाडि पारिदिएको छ। यस सफलतालाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई व्यक्त गरेका छन्।
सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत संवाद गर्दै प्रधानमन्त्री मोदीले चुनावी सफलताको शुभकामना दिएका हुन्। साथै उनले आगामी दिनमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्