आन्द्रे रसेलको अलराउन्ड प्रदर्शन निर्णायक, सेफ हसनको अर्धशतक पनि जनकपुरलाई जित दिलाउन असफल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत मंगलबार भएको रोमाञ्चक प्रतिस्पर्धामा जनकपुर बोल्ट्स विराटनगर किंग्ससँग मात्र २ रनले पराजित भएको छ। कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमा सीमित भयो।
टस जितेर पहिले बलिङ रोजेको जनकपुरले विराटनगरलाई निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाउन दिएको थियो। विराटनगरका लागि इमरान शेखले ५६ रन र लोकेश बमले ५० रनको अर्धशतकीय पारी खेले। त्यस्तै, आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए।
१७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका सेफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ७१ रन बनाए। विशाल सुशलिङले ४३ रन तथा जिमी निशमले २७ रनको योगदान दिए पनि टोलीलाई जित सम्म पुर्याउन सकेनन्।
खेलको अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १३ रन आवश्यक थियो। तर, विराटनगरका आन्द्रे रसेलले अन्तिम ओभरमा दुई महत्त्वपूर्ण विकेट लिँदै जनकपुरको जितको सम्भावना समाप्त पारे। उनले खेलमा ब्याटिङतर्फ अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४५ रन खर्चेर ४ विकेट लिए।
उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका रसेल खेलका प्लेयर अफ द म्याच घोषित भए।
अन्तिम क्षणसम्म जितका लागि संघर्ष गरेको जनकपुर बोल्ट्स दुई रनको झिनो अन्तरले पराजित भएपछि समर्थकहरू निराश बनेका छन्। यस जितसँगै विराटनगर किंग्सले एनपीएलको १२औँ खेलमा महत्त्वपूर्ण सफलता हात पारेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्