७ फागुन , सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णाली नेपालको सबैभन्दा लामो नदी, सबैभन्दा ठूलो जिल्ला, सबैभन्दा ठूलो गाउँपालिका र सबैभन्दा गहिरो ताल रहेको क्षेत्र भएको उल्लेख गरे ।
ती विशेषता र सम्भावनाको गहिराइलाई अहिले सम्म कुनै पनि सरकार वा राजनीतिक दलले सही रूपमा नबुझेको दाबी गर्दै त्यसलाई बुझ्ने पार्टी रास्वपा नै भएको उनले बताए ।बालेन शाहले डोल्पामा उत्पादन हुने सुन जस्तै मूल्यवान यार्सागुम्बा विश्वभर पुग्न सक्ने भए पनि कर्णालीको स्याउ र मार्सी चामल जस्ता उत्पादन भने देशका प्रमुख बजारसम्म सहज रूपमा पुग्न नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे ।

उनले रास्वपाले कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पुर्याउने नीति लिएको स्पष्ट पारे ।सिंजा उपत्यकालाई नेपाली र खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै उनले यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्रा सभ्यताको पहिचान भएको बताए । कर्णालीको मौलिक सभ्यता संरक्षण गर्ने पार्टीका रूपमा रास्वपा अघि बढ्न चाहेको उनको भनाइ थियो ।
उनले कर्णाली क्षेत्रमा अझै पनि भोकमरी, बालबालिका तथा मातृ मृत्युदर जस्ता समस्या विद्यमान रहेको उल्लेख गरे । कर्णालीको गरिबी र पीडालाई राजनीतिक रूपमा प्रयोग गर्ने नेतृत्व धेरै भए पनि त्यसलाई गहिरो रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको उनले टिप्पणी गरे ।

कर्णालीवासीका सपना बोकेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रास्वपाले सार्वजनिक गरेको ‘बाँचापत्र’ मार्फत त्यस अभियानको सुरुवात गरिएको जानकारी दिए । ‘कर्णालीका सपना, हाम्रा पनि सपना’ भन्ने भावना सहित कर्णालीको विकास र समृद्धिका लागि पार्टीले काम गर्ने उनले बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्