३० असार।
जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित कार्यालय प्रमुख श्रेष्ठलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।
यस सम्बन्धी बिस्तृत जानकारी केही क्षणमा सार्वजनिक गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालका प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिएका छन् । हाल जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय लाई सिल गरेर त्यस वरिपरी कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।
श्रेष्ठको साथबाट अर्को श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीहरुले बताएका छन ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुख श्रेष्ठलाई अख्तियारले पक्राउ गरेर नगद बरामद गरेको बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्