जनकपुर : धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई २०८२ साल असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ को रूपमा सम्मानित गरिएको छ।
निरीक्षक यादवले पछिल्लो समयमा १४ जना फरार प्रतिवादी पक्राउ गरी कानूनी कारबाही अघि बढाउनुका साथै हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिक सहित रु. १ लाख ४७ हजार भारतीय रुपैयाँ र रु. ८ लाख ५० हजार नेपाली नगद बरामद गरी मुद्दा दर्ता गरेका थिए।
त्यसैगरी, उनले अनलाइन ठगीमा संलग्न व्यक्तिहरू पक्राउ गरी पीडितको रकम फिर्ता गराउने, साथै धनुषाको बिदेह नगरपालिका–५ मुरिवाटोलकी रामपरी देवी बरही ठाकुरको हत्या प्रकरणका मुख्य अभियुक्त संगम पासवानलाई पक्राउ गर्न विशेष भूमिका खेलेका थिए।

जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्रीको निवास र अन्य सरकारी भवनहरूमा हुन सक्ने आगजनी तथा लुटपाट नियन्त्रण गर्न, आन्दोलनका क्रममा फरार कैदीहरूलाई पक्राउ गर्न, र धार्मिक विवादका घटनामा हिंसा फैलिन नदिन यादवले सक्रिय र जिम्मेवार भूमिका निर्वाह गरेका थिए।
जनकपुर उपमहानगरपालिका–२० रुपैठामा गणेश र दुर्गा मूर्ति सेलाउने विषयमा उत्पन्न हिन्दु–मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रण गरी भिड तितरबितर पार्ने कार्यमा पनि उनको नेतृत्व निर्णायक बनेको थियो।
प्रहरी संगठनले यादवको पेशागत दक्षता, निष्ठा र सक्रियतालाई उच्च मूल्यांकन गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको हो। संगठनले यादवको कार्यले जनतामा प्रहरी प्रतिको विश्वास र सकारात्मक सोच बढाउन उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्