जनकपुरधाममा विश्वासघातको काण्ड : महावीर युवा कमिटीका अध्यक्ष सहित दुई पक्राउ, दुई अझै फरार
१० माघ,जनकपुरधाम । आफ्नै ज्वाइँको सम्पत्ति ठगी गरेको आरोपमा महावीर युवा कमिटीका तत्कालीन अध्यक्ष दिपक साह उर्फ ‘मिन्टु’ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम–५ निवासी दिपक साह र राजेश प्रसाद साह लाई जिल्ला अदालत धनुषा बाट जारी पक्राउ पुर्जीको आधारमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोही मुद्दामा संलग्न रहेको आरोपमा बृजनन्दन साह र मंजु देवी भने हाल फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको धनुषाका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।
पक्राउ परेका तथा फरार सबै जना विरुद्ध नातामा पर्ने आफ्नै ज्वाइँ विजय साहले ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए। पीडित विजय साह विगत करिब २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका थिए। विदेशमा कडा परिश्रमबाट कमाएको रकमबाट जनकपुरधाममा जग्गा खरिद तथा घर निर्माण गर्ने उद्देश्यले उनले आफ्ना ससुरा–सासु बृजनन्दन साह र मंजु देवी तथा सालो नाता पर्ने दिपक साह र राजेश प्रसाद साह लाई विश्वास गरी रकम तथा सम्पत्ति आफ्नै नामबाट पठाएका थिए।
तर ती सम्पत्ति पीडितको नाममा नराखी ससुरा–सासु र सालोहरूका नाममा दर्ता गरिएको पीडित विजय साहले आरोप लगाएका छन्। पछि आफ्नो जग्गा तथा नगद फिर्ता माग्दा प्रतिवादीहरूले फिर्ता दिन अस्वीकार गरे पछि आफू ठगीमा परेको महसुस गरी अदालतको शरण लिनुपरेको पीडितको भनाइ छ।
यसै बीच, श्रोतका अनुसार महावीर युवा कमिटी जस्तो गरिमामय सामाजिक संस्थाका तत्कालीन अध्यक्षमाथि ठगी र बेइमानी जस्ता गम्भीर आरोप लागे पछि कमिटी कार्यसमितिले दिपक साहलाई निलम्बन गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्