१८ चैत,काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा ११औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ।
समारोहमा तालिमका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरू लाई पुरस्कार प्रदान गरिनुका साथै तालिम सफल बनाउन योगदान दिने प्रशिक्षकहरूलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो। यस अवसरमा महानिरीक्षक कार्कीले नवनिर्मित ‘आर्म ब्याज’ नमुना स्तम्भको समेत अनावरण गरे।

महानिरीक्षक कार्कीले तालिमबाट प्राप्त ज्ञान, सीप र साहस आन्तरिक सुरक्षा, विपद् उद्धार, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा प्रभावकारी रूपमा उपयोग हुने विश्वास व्यक्त गरे। साथै उनले कार्यक्षेत्रमा कानुन सम्मत, नैतिक र इमानदार सेवा प्रवाह गर्दै जनविश्वास कायम गर्न निर्देशन दिए।
तालिम संयोजक प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार ९० कार्यदिनको उक्त तालिममा ९३ जना प्रशिक्षार्थी (प्रहरी निरीक्षक ७, सहायक निरीक्षक १८ र जवान ६८) सहभागी थिए। प्रशिक्षार्थीहरूले बाधा पार, हतियार खोलजोड, होस्टेज रेस्क्यू, खाली हात लडाइँ तथा विस्फोटक सामग्री निस्तारणजस्ता अभ्यासहरूको प्रदर्शन समेत गरेका थिए।
समारोहमा स्थानीय जन प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।




















आफ्नो प्रतिकृया दिनुहोस्