१८ चैत,काठमाडौं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे को अवसर पारेर अनौठो शैलीमा जनचेतनामूलक सन्देश दिएको छ। सामाजिक सञ्जाल मार्फत प्रहरीले उजुरी वा निवेदनको जानकारी लिन सकिने भन्दै एउटा क्यूआर कोड सहितको पोस्ट सार्वजनिक गरेको थियो।
उक्त क्यूआर कोड स्क्यान गर्दा ‘अप्रिल फूल’ लेखिएको सन्देश सहित अर्को पाना खुल्ने व्यवस्था गरिएको थियो। प्रहरीले यसलाई साइबर सचेतना अभियानको रूपमा प्रयोग गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्रहरीले सन्देशमा भनेको छ, “तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं, तर भोलि यस्तै क्यूआर कोड मार्फत तपाईं स्क्याममा पर्न सक्नु हुन्छ।”
यससँगै प्रहरीले अज्ञात स्रोत वा नचिनेका व्यक्तिबाट प्राप्त क्यूआर कोड जथाभावी स्क्यान नगर्न सबैलाई सचेत गराएको छ।आज अप्रिल १ अर्थात् ‘विश्व मूर्ख दिवस’ का अवसरमा विश्वभर हाँसो–ठट्टा सहित विभिन्न रमाइला गतिविधि गरिन्छन्। यही अवसरलाई उपयोग गर्दै प्रहरीले मनोरञ्जनसँगै सचेतनाको सन्देश दिन खोजेको हो।



















आफ्नो प्रतिकृया दिनुहोस्