४ चैत,धनुषा । शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।छनौट शाखाका अनुसार हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत निरीक्षक यादवले फागुन महिनाभर विभिन्न संवेदनशील कार्यक्रमहरूलाई सफलतापूर्वक व्यवस्थापन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका हुन्।
विशेषत: फागुन १९ गते सम्पन्न मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले प्रभावकारी सुरक्षा योजना तयार गरी प्रहरी परिचालनमा महत्वपूर्ण नेतृत्व प्रदान गरेका थिए।
त्यसैगरी, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पनि उनले निर्णायक भूमिका खेले। निर्वाचन लक्षित सभा, जुलुस तथा प्रचार–प्रसार कार्यक्रमहरूलाई व्यवस्थित गर्न सुरक्षा रणनीति निर्माणदेखि कार्यान्वयन सम्म उनी स्वयं सक्रिय रूपमा खटिएका थिए।
निर्वाचन अवधिभर जिल्लाका मतदान स्थलहरूको सुरक्षा मूल्यांकन, आवश्यक जनशक्ति परिचालन, मोबाइल गस्ती, निगरानी र चेकजाँचलाई तीव्र बनाउँदै उनले समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाएका थिए। मतदानका दिन मोबाइल कमान्डरको रूपमा खटिँदै उनले मतदान प्रक्रिया, मतपेटिका सङ्कलन र मतगणनालाई विवादरहित बनाउन विशेष योगदान दिएका थिए।
उच्च व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा र लगनशीलता सहित जिम्मेवारी निर्वाह गर्दै नागरिकमा सुरक्षाको अनुभूति गराएको मूल्याङ्कनका आधारमा निरीक्षक यादवलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्