काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष देखि सबै राष्ट्रसेवक हरूको नतिजा सूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा वुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्य सम्पादन स्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारिता र कार्यकुशलता पूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने,‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादन स्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’

प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शत-प्रतिशत नतिजा प्राप्तिमा जोड गर्न र आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन दिए ।
तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तह अनुसार कर्मचारीरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए ।
मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायहरूको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तर लाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादन स्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनु पर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यकता भन्दा बढी कर्मचारी थन्काउने निकायको रूपमा भन्दा विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाउनु पर्नेमा जोड दिँदै प्रधानन्त्रीले यस विषयमा विशेषगरी मुख्य सचिवजी र सचिवहरूले नेतृत्वदायी भूमिका सहित आवश्यक प्रबन्ध गर्न निर्देशन दिए ।





















आफ्नो प्रतिकृया दिनुहोस्