रौतहट : रौतहटको जयनगर चोक नजिकमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् ।शनिबार बिहान गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका वडा नम्बर –१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो ।
दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा– ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहा कुमारी गिरी रहेकी छन् ।
दुर्घटनामा बसमा सवार २६ बर्षीया रन्जु देवी दासको दाहिने हात भाँचिएको छ । दास सहित अन्य सात जना घाइतेहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले घाइतेहरुको शिवनगर र गरुडाका अस्पतालमा उपचार भईरहेको जानकारी दिइन।
गौरबाट भैरहवा तर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको गिरीले जनाएकी छन् ।बस चालक भने फरार रहेकाले निजको खोजी कार्य भईरहेको र दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्