२० माघ,रंगेली, मोरङ । मोरङको रंगेली नगरपालिकामा एक युवकले आफ्नी पत्नीको बीभत्स हत्या गरी आफूले पनि आत्महत्या गरेको दुखद घटना सार्वजनिक भएको छ। रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेश कुमार मण्डलले सोही वडाको धनपट्टी स्थित आफ्नै ससुराली घर पुगेर २१ वर्षीया पत्नी अम्बिका कुमारी मण्डलको हत्या गरे पश्चात् सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेका अनुसार मुकेश मंगलबार साँझ धनपट्टी स्थित ससुराली घर पुगेका थिए। सोही क्रममा श्रीमान र श्रीमती बीच घरेलु विषयलाई लिएर सामान्य विवाद सुरु भएको र उक्त विवादले उग्र रूप लिँदा मुकेशले अम्बिका कुमारी माथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी अम्बिका कुमारीको घटनास्थलमै मृत्यु भएको थियो। पत्नीको मृत्यु सुनिश्चित भए पछि मुकेशले सोही हतियार प्रयोग गरी आफ्नै घाँटी रेटेको प्रहरीले जनाएको छ।घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउने लगायतका आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरेको छ।

डीएसपी लामिछानेले घटनाको वास्तविक कारण र यसको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। प्रहरीले घटनाको थप सूक्ष्म अध्ययन भइरहेकाले अनुसन्धानको अन्तिम प्रतिवेदन आए पछि मात्र थप विवरणहरू सार्वजनिक गरिने स्पष्ट पारेको छ। यस हृदयविदारक घटनाले स्थानीय समुदायमा ठूलो शोक र सन्नाटा छाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्