१० जेठ,काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले लुकिछिपी गरिरहेको सवारी साधन चेक-जाँच प्रणाली माथि गम्भीर प्रश्न उठेको छ । विशेष गरी स्पीड लेजर गन प्रयोग गरेर गरिने यस प्रकारको चेक-जाँचले सवारी दुर्घटनाको जोखिम बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
गत साउन ३१ गते, २०८१ मा भक्तपुरको गठ्ठाघरमा लुकिछिपी चेक-जाँचकै क्रममा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएको थियो । यस घटना पछि प्रहरीले चर्को आलोचना खेप्नु परेको थियो र अस्थायी रूपमा यस्ता चेक-जाँच रोकिएका पनि थिए । तर, अहिले पुन: पुरानै शैलीमा चेक-जाँच सुरु भएको पाइएको छ ।
अवैज्ञानिक र अव्यवहारिक तरिकाले दुर्घटना निम्ताउँदै
विशेष गरी भक्तपुर क्षेत्रमा यस्ता अवैज्ञानिक एवं अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिन प्रति दिन बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । हालै शनिबार पनि काठमाडौंको ग्वार्को–बालकुमारी क्षेत्रमा यसै प्रकारको स्पीड लेजर गन मार्फत चेक-जाँच गरिएको थियो ।
काठमाडौं जोरपाटीका दिनेश बाँस्कोटाले ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने भए पनि लुकेर स्पीड जाँच गर्ने नाममा दुर्घटना निम्ताउन नपाइने बताए । उनले अव्यवहारिक र अवैज्ञानिक चेक-जाँच तत्काल रोक्नु पर्नेमा जोड दिए ।
नीतिगत कमजोरी र संवेदनहीनताको परिणाम
कोइरालाको ज्यान गएको घटना पछि जनस्तरबाट चर्को आलोचना र दबाब बढे पछि उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टा-छुट्टै छानबिन समिति गठन गरेका थिए । त्यस पछि केही समयका लागि लुकि-छिपी चेकजाँच रोकिएको पनि थियो । तर, नेपाली व्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताका कारण अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ ।
बाँस्कोटाको भनाइमा, सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा, त्यो पनि गुपचुप तरिकाले ट्राफिकको चेक-जाँच हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटनालाई निम्तो दिनु हो ।
परम्परागत शैलीमै ट्राफिक चेकिङ
विश्वमा स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा निकै अघि बढिसकेको अवस्थामा नेपालमा भने अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै सीमित छ । साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालक बीचको चेतना अभाव पहिले देखि नै दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए । यसै माथि लुकि-छिपी गरिने ट्राफिक चेकजाँचले दुर्घटनाको जोखिमलाई थप बढाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्