१९ जेठ,काठमाडौं: आजको दिन, नेपाली इतिहासकै सबैभन्दा भयावह घटना मध्ये एक मानिने दरबार हत्याकाण्डको २४औँ स्मृति दिवस देशभर विभिन्न रूपमा स्मरण गरिएको छ। वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबार, नारायणहिटी राजदरबारमा आयोजित राजपरिवारको नियमित भोज कार्यक्रम एक रक्तपातमा परिणत भएको थियो, जसले देशको राजनैतिक इतिहासमा गहिरो धक्का पुर्याएको थियो।
उक्त दिन तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराज कुमारी श्रुति, साथै वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, र अन्य राजपरिवारका सदस्यहरू — राजकुमारी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्ग विक्रम शाह — को हत्या भएको थियो।
यो घटनालाई आधिकारिक रूपमा राजदरबार हत्याकाण्ड को नाम दिइएको छ। हत्याकाण्डमा संलग्न भएको आरोप तत्कालीन युवराज दीपेन्द्र शाह माथि लगाइएको थियो। घटना पछि गम्भीर घाइते अवस्थामा रहेका दीपेन्द्र लाई जेठ २० गते औपचारिक रूपमा राजा घोषणा गरिएको थियो। तर उनी अचेत अवस्थामा रहेकाले तत्कालीन अधिराज कुमार ज्ञानेन्द्र शाह लाई नायब राजा घोषणा गरिएको थियो।
जेठ २२ गते दीपेन्द्रको निधन भएपछि ज्ञानेन्द्र शाहलाई औपचारिक रूपमा राजा घोषणा गरिएको थियो, जसपछि नेपालको राजसंस्थामा गहिरो परिवर्तन आएको थियो। यस घटनाले देशमा राजसंस्था प्रति आमजनमा आशंका र विरोध चर्कियो, जसले अन्तत: २०६३ सालमा गणतन्त्र स्थापनाको मार्ग खोल्यो।
दरबार हत्याकाण्डको वास्तविक सत्य आज सम्म पनि विवादास्पद छ। घटनाको अनुसन्धान र निष्कर्ष प्रति प्रश्न उठाउँदै आएका विभिन्न व्यक्तिहरू, राजनीतिक दलहरू र नागरिक समाजले यसलाई अझै स्पष्ट र पारदर्शी ढंगले छानबिन गर्नु पर्ने माग गर्दै आएका छन्।
यस स्मृति दिवसमा केही पूर्वराजावादी समूह तथा नागरिकहरूले नारायणहिटी संग्रहालय अगाडि पुगेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। साथै, विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत जनताले यस दिनका मृत आत्मा प्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्