काठमाडौं । गत शुक्रबार र शनिबारको अविरल वर्षा पछि आएको बाढी र पहिरोमा फसेका नागरिकहरूको उद्धारमा नेपाली सेना सक्रिय रुपमा खटिएको छ।
आश्विन २० गते बिहान इलामको सन्दकपुर–४ माबुमा पहिरोमा परी घाइते भएका एक पुरुष, तीन महिला (एक बालिका सहित) लाई सेनाको हेलिकोप्टर मार्फत झापा स्थित अस्पताल पुर्याइएको छ। त्यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिकामा बसोबास गर्ने मृगौला रोगीलाई बाटो अवरुद्ध भएपछि सेनाले हेलिकोप्टर मार्फत काठमाडौं ल्याई उपचारका लागि सहयोग गरेको छ।

यसअघि असोज १९ गते इलामको माङसेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा घाइते भएका एक पुरुष र गर्भवती महिलालाई सेनाले इटहरी स्थित अस्पताल पुर्याएको थियो।त्यसैगरी, ललितपुर च्यासल पुलमुनि बाढीले बगाएर ल्याएको रुख अड्किएर पानीको बहाव अवरुद्ध भए पछि राजदल गणले अन्य सुरक्षा निकायसँग सहकार्य गरी अवरोध हटाएको थियो।
यता, उपत्यकामा असोज १८ गते बागमती नदीमा पानीको बहाव बढे पछि गणेशदल गणसहितको संयुक्त टोलीले थापाथली र टेकु आसपासका बस्तीका वासिन्दा तथा वृद्धवृद्धालाई सुरक्षित स्थलमा स्थानान्तरण गरेको सेनाले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्