८ माघ,जनकपुरधाम : जनकपुरधामको शिक्षा क्षेत्रमा ऐतिहासिक पहिचान बनाउँदै आएको ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय–८ ले बृहत् शैक्षिक मेला–२०८२ को सफल आयोजना गरेको छ। विद्यार्थीमा रहेको सिर्जनशीलता, व्यवहारिक ज्ञान र सिकाइ उपलब्धि सार्वजनिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ४५ भन्दा बढी विद्यार्थी–निर्मित स्टलहरू प्रदर्शनमा राखिएका थिए।

मेलामा विद्यार्थीहरूले कक्षा कोठामा सिकेका पाठ्यक्रमका विषयहरूलाई व्यवहारमा उतार्दै विज्ञान, संस्कृति, समाज, वातावरण तथा सिर्जनात्मक विषयमा विविध स्टलहरू तयार गरेका थिए। साथै विद्यार्थीहरूले प्रस्तुत गरेको लोक नृत्य ले कार्यक्रममा थप आकर्षण थपेको थियो। मेलामा शिक्षक, विशिष्ट व्यक्तित्व, पत्रकार, अभिभावक, वडावासी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने विद्यार्थीहरू उत्साहपूर्ण सहभागितामा देखिएका थिए।
बृहत् शैक्षिक मेलाको अनुगमनका क्रममा बोल्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ ले शिक्षा केवल कक्षा कोठाभित्र सीमित नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नु भयो, “कक्षा कोठामा प्रदान गरिने ज्ञान मात्रै शिक्षा होइन। यस्तो शैक्षिक मेला जस्ता कार्यक्रमले विद्यार्थीको क्षमता उजागर गर्छ, त्यसैले यस्ता गतिविधि समय–समयमा हुन आवश्यक छ।”

प्रदेश प्रमुख लाभले यो धर्ती उर्वर र उत्पादक रहेको उल्लेख गर्दै भन्नुभयो, “यो धर्तीले भोलि हेलिकप्टर, एरोप्लेन मात्रै होइन, रकेट सम्म बनाउन सक्ने क्षमता राख्छ। यहाँ एक से एक विद्वान जन्मिने गरेका छन्, विशेष गरी ज्ञानको केन्द्र बनेका विद्यालयहरूमा।”
विद्यालयले आयोजना गरेको शैक्षिक मेलाको उद्देश्य बारे जानकारी दिँदै प्रधानाध्यापक संजय कुमार झा ले कक्षा कोठामा सिकाइएको ज्ञान विद्यार्थीहरूले कति आत्मसात् गरेका छन् भन्ने मूल्याङ्कन गर्न मेलाको आयोजना गरिएको बताउनु भयो। उहाँले भन्नु भयो, “विद्यार्थीहरूले पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरू कति ग्रहण गरेका छन्, शिक्षकले पढाएको कुरा कति प्रभावकारी भयो भन्ने कुरा प्रस्तुत गर्ने उद्देश्यले यो शैक्षिक मेला आयोजना गरिएको हो।”

प्रधानाध्यापक झाका अनुसार प्रारम्भमा २० वटा स्टलको मात्रै व्यवस्था गरिएको भए पनि विद्यार्थीहरूको उत्साहका कारण मेलामा ४७ जना विद्यार्थी सक्रिय सहभागी भएका थिए।बृहत् शैक्षिक मेलाले ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयलाई केवल शैक्षिक संस्था मात्र नभई व्यवहारिक, सिर्जनात्मक र गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ रहेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्