३ असोज, भदौ शुक्ल अष्टमी,काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गर्नु भएको विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुनुभएको छ।
शनिबार आयोजित उक्त समारोहमा प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतल निवास पुग्नु भएको हो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व-प्रधानमन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा कूटनीतिक नियोगका प्रमुख लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले संविधानको पूर्ण कार्यान्वयन, विधिको शासन, सुशासन तथा नागरिकका अधिकार र राज्यबाट प्राप्त हुने सेवामा समान पहुँच सुनिश्चित गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले संविधानले सुनिश्चित गरेका उपलब्धिलाई संस्थागत गर्दै नागरिकको जीवनमा त्यसको प्रत्यक्ष अनुभूति हुने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ।
यस अघि शनिबार नै काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह आयोजना गरिएको थियो। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।
नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइन्छ। यस वर्ष संविधान जारी भएको ११ वर्ष पूरा भएको छ।(photo:pmonepal)




















आफ्नो प्रतिकृया दिनुहोस्