काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा आफ्ना दिदीबहिनी तथा सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले भाइटीकालाई पारिवारिक प्रेम, विश्वास, आत्मीयता र आपसी सम्मानको पर्वका रूपमा प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा पौराणिक मान्यता अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको प्रसङ्ग उल्लेख गरेका छन्। यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेपछि प्रसन्न भएका यमराजले टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति, दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले बताएका छन्।

उनले यही मान्यता अनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्पराको चर्चा गरेका छन्। भाइटीकामा दाजुभाइलाई दुबो, मखमली तथा सयपत्री फूलको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिठामिठा परिकार खुवाउने चलन रहेको पनि उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
त्यसैगरी दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनको भनाइ छ।शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्री शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्रीको यो सन्देश भाइटीकाको धार्मिक तथा सांस्कृतिक महत्वसँगै पारिवारिक सम्बन्ध, आपसी सद्भाव र आत्मीयताको सन्देशमा केन्द्रित रहेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्