जनकपुरधाम । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता, विश्वास र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मनाइने भाइटीका पर्व आज जनकपुरधाम सहित देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकाका अवसरमा जनकपुरधामका विभिन्न टोल तथा बस्तीमा बिहानै देखि चहलपहल देखिएको छ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरङ्गी तथा पञ्चरङ्गी टीका लगाइदिँदै मखमली, सयपत्री र गोदावरी फूलका माला पहिराएर दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।
यस वर्ष भाइटीका लगाउन चाहनेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ७ मिनेटको समयलाई उत्तम साइत निर्धारण गरेको थियो। यद्यपि दिनभर भाइटीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व फर्किने र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्किने निर्देशनसमेत दिइएको थियो।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई परम्परा अनुसार तेलको धाराले छेकेर टीका लगाउने, फूलमाला पहिराउने तथा ओखर, कटुस, मसला, सेलरोटीलगायतका परिकार दिने चलन छ। टीका ग्रहण गरेपछि दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार उपहार, कपडा तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा रहेको छ।

मधेशको सांस्कृतिक तथा धार्मिक केन्द्रका रूपमा परिचित जनकपुरधाममा पनि भाइटीका पर्वले पारिवारिक भेटघाट र सामाजिक सद्भावलाई थप बलियो बनाएको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका कारण घरपरिवारबाट टाढा रहेका दाजुभाइ तथा दिदीबहिनी समेत यस अवसरमा एकै ठाउँमा भेला भएर पर्व मनाउने गरेका छन्।
धार्मिक मान्यताअनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यमराज र उनकी बहिनी यमुनासँग सम्बन्धित पौराणिक कथासँग जोडिएको यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखमय जीवनको कामना गर्ने परम्परा रहिआएको छ।
भाइटीका केवल धार्मिक अनुष्ठानमा सीमित नभई पारिवारिक एकता, आपसी सम्मान, प्रेम र सामाजिक सद्भाव अभिवृद्धि गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित छ। यस पर्वले नेपाली समाजमा पुस्तौँदेखि कायम रहँदै आएको पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ।
भाइटीकासँगै यस वर्षको तिहार पर्व पनि औपचारिक रूपमा सम्पन्न हुँदैछ।




















आफ्नो प्रतिकृया दिनुहोस्