जनकपुरधाम, १ कात्तिक ,कृष्ण द्वादशी ,(पञ्चाङ्ग: ब्रह्म तैतल) : पूर्व सौर महिनाको कात्तिक संक्रान्ति दिनसँगै आज देखि दियावती (तिहार) पर्वको शुरुवात हुँदैछ। महोत्तरी सहित मिथिलाञ्चल क्षेत्रमा कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुक्ल द्वितीया सम्म मनाइने दियावती पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाउने तयारी गरिएको छ।
मिथिलाको स्थानीय भाषामा ‘दियावती’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ। पर्वको पहिलो दिन धातुका नयाँ सामान किनेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ मनाउने परम्परा रहँदै आएको छ। सामान्यत : पाँच दिन सम्म मनाइने यो पर्व, तिथिको घटबढका कारण यस वर्ष छ दिन लामो हुनेछ। आज दिउँसो १:२३ बजे पछि त्रयोदशी तिथि लाग्ने भएकाले आज साँझ ‘धनतेरस’ मनाइएको छ।
मिथिलामा पर्व र तिथिसँग सम्बन्धित कार्यहरू विद्यापति तथा मिथिला पञ्चाङ्गका आधारमा निर्धारण गर्ने चलन रहिआएको छ। दिउँसो त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाइए पछि त्यसै तिथिको कागपूजा भोलि आइतबार पर्नेछ।
यस्तै लक्ष्मीपूजा र गौपूजा पनि एक दिन अगाडि–पछाडि परेको छ। सामान्यत: दिवालीको पहिलो दिन त्रयोदशी तिथिमा कागपूजा र धनतेरस, अमावस्यामा गौपूजा तथा साँझपख लक्ष्मीपूजा गर्ने चलन रहेको छ। तर यस वर्ष अमावस्या सोमबार परेकोले सोही दिन लक्ष्मीपूजा गरिने स्थानीय पण्डित गजेन्द्र झा (जनकपुर–२) ले बताएका छन् ।
दीपावली धन–धान्यकी देवी लक्ष्मीको आराधना गरिने प्रमुख पर्व भएकाले पहिलो दिन लक्ष्मीलाई प्रसन्न पार्न ‘धनतेरस’ मनाउने परम्परा वृद्धपुराणमा उल्लेख गरिएको छ। मिथिला क्षेत्रमा दियावतीको पहिलो दिन बजारबाट किनिएका धातुका गहना वा भाँडाकुँडालाई लक्ष्मीको मूर्ति राखिएको स्थानमा पूजा गरी पर्वको औपचारिक शुरुवात गरिन्छ। साँझ दीप प्रज्वलन सहित धनतेरसको पूजा गरेर दियावती पर्व प्रारम्भ गर्ने प्रथा रहिआएको छ।
पर्व विशेषका कारण ताम, पीतल, काँसा तथा सुन–चाँदीका गहना बनाउन र खरिद गर्नका लागि बजारहरूमा चहलपहल बढेको छ। मिथिलामा आज किनिएका वस्तु शुभ, टिकाउ र लाभदायी हुने विश्वास रहिआएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्