८ कात्तिक : लोहारपट्टी (महोत्तरी) का ग्रामीण क्षेत्रमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विधुतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो ।बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान थालेका छन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जाँतो विस्थापित भएका छन् । विशेष गरी महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे तर अहिले मीलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि ढिकी जाँतो पूर्ण रुपमा बन्द भएका छन् ।

विधुत र तेलबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकी र जाँतोको उपयोग हुन छाडेको लोहारपट्टी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष पंकज साहले बताएका छन् । थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको उनको भनाइ रहेको छ ।‘केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, गहुँ र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो तर अहिले परम्परागत साधनहरु थन्किएका छन्, दुई दशक अघिसम्म आमा दिदि तथा परिवारजन हरुले बिहान र राती देखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्र्यो, तर मिल आएपछि अहिले सजिलो भएको अध्यक्ष साहले बताए।
दुई दशकअघि नै गाउँमा डिजल मिल आएपछि ढिकी जाँतो प्रयोगमा केही कमी आएको भए पनि केहि वर्ष अघिदेखि बिजुली मिल चल्न थालेपछि अहिले ढिकी जाँतो बेकाम बनेको डोठराका स्थानीय मिल सञ्चालक राम ज्ञान मण्डलले बताउनुभयो । डिजेल र बिजुलीले चल्ने कुटानी पिसानी मिल सञ्चालनमा आएपछि आफ्नो गाउँमा ढिकी थान्को लागेको उहाँको भनाई छ । स्थानीय हरुको घरबाट मिल पुग्न २ मिनेट पनि लाग्दैन, एकैछिनमा पिसिदिन्छ अनि ढिकी जाँतो किन चलाई रहनुपर्यो र मिलको चलनले ढिकीमा लागिरहनु पनि नपरेको लोहारपट्टी नगरपालिकाकी अर्का गृहिणी भारती देवी मण्डलले बताउनुभयो ।
बिशेष गरी गहकिलो काठ, सकेसम्म साल नभए पनि साज, हर्रो,बर्रो, चिलाउने, अमला, धँगेरोको ढिकी बनाउने चलन भए पनि पछिल्लो समय ढिकीमा प्रयोग गरीएका साल, साज, हर्रो, बर्रो र अमला जस्ता राम्रा काठहरु बनमा समेत दुर्लभ हुँदै गएको छ । आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि क्रमिक रूपमा ढिकी र जाँतोको प्रयोग कम हुन थालेको छ । मिलमा एकैछिनमा अन्न पिसिदिन्छ , ढिकी जाँतोमा घण्टौंसम्म समय र जनशक्तिको नाश हुने हुँदा मिलमा समय र श्रम दुवैको बचत हुने भएको कारण अवको पुस्तालाई ढिकी जाँतो चिनाउनुपर्ने समय आएको गृहिणी मण्डलको कथन थियो ।
बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँघरका ढिकीजाँतो लोप हुने क्रममा रहेको छ । अत्याधुनिक प्रविधि गाउँसम्म पुगेपछि ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचान ओझेलमा पर्दै गएका छन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार हाल महोत्तरी जिल्लामा दुई सयको संख्यामा मिलहरु सञ्चालनमा रहेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्