८ कात्तिक,जनकपुरधाम(रवि कुमार): बडा दशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा मटिहानी नगरपालिकाका किसान निर्मेश मण्डल लाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले बताउनुभयो । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, जनकपुरधाम मा शनिवार भेटिनुभएका मण्डल ले भन्नुभयो, “बिक्री नभएका खसी बोकालार्ई अब हिँडाएरै आफ्नै गाउँतिर फिर्ता लग्दैछौं ।” आफ्नो गाउँवाट १५ वटा खसी खरिद गरी जनकपुर बजारमा व्यापार गर्न गएको चार दिनमा उहाँका जम्मा पाँच वटा खसी मात्र बिक्री हुन सकेका छन् ।

विगत दशैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूलो असर पुगेको खसी व्यापार गर्ने गरेका किसानहरुले बताएका छन् । बाख्रापालन गर्दै आउनुभएका पिपरा गाउँपालिकाका अर्का किसान गोविन्द झा ले कोरोना फैलिने डरले दशैँको समयमा खसी बोकाको व्यापार नै गर्नुभएन । ‘‘जताततै कोरोनाको त्रास देखिँदा व्यापार गरेर कमाई गर्ने बाटो बन्द भयो”, झा ले भन्नुभयो । पिपरा गाउँपालिकामा स्थानीय किसानले पालेका झण्डै ३५० खसीबोका भने यसपालि काठमाडौँ र अन्य ठाउँ बाट आएका व्यापारीले खरिद गरेर लगेका छन् ।

‘‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुश्किलले प्रति किलो रु ५२५ देखि ५७५ मा खरिद बिक्री भइरहेको छ”, स्थानीय किसान बिरु मण्डल ले भन्नुभयो, “यहाँका खसी बोका काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको रहेछ ।” पिपरा गाउँपालिका क्षेत्रमा बाख्रापालन गर्ने किसानलाई सरकारवाट सहयोग नपुगेको गुनासो कृषकहरुको रहेको छ । सरकारले बाख्रापालन गर्ने किसानलाई विभिन्न सहयोग गर्ने गरेको भन्ने सुनिए पनि आफ्नो गाउँठाउँमा सरकारी कार्यक्रम कहिल्यै नपुगेको बताउनुभयो ।

घर घरमा खसी बोकाको मार हान्ने र देवी—देवताको नाममा बलि दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा दशैँको समयमा खसी बोकाको कारोवार पनि घट्दै गएको व्यापारीको भनाइ छ । पहाडी क्षेत्रमा पालिएका खसी बोका दशैँको समयमा जनकपुरका शहरी क्षेत्रका अलावा जिल्ला बाहिर समेत बिक्रीका लागि लैजाने गरिएको छ । यसपटक कोरोनाको संक्रमणको जोखिमका कारण किसानले पर्याप्त संख्या मा खसी बोका बजारमा ल्याउन नसकिएको व्यापारीले बताएका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्