जनकपुरधाम । प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधाममा दशैं लक्षित सस्ता बजार लाग्ने भएको छ। धनुषा सहित आसपासका जिल्लाबाट लाखौं उपभोक्ता आकर्षित हुने यो बजारलाई थप व्यवस्थित र आकर्षक बनाउन तयारी थालिएको छ।
बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारवाला निकायहरूसँग छलफल सम्पन्न भएको छ। छलफलमा बजार अनुगमन, सामानहरूको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था र व्यवस्थापनका विषयमा विशेष चर्चा गरिएको थियो। यस वर्ष स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिने र नयाँपन ल्याउनेमा सहभागीहरूले जोड दिएका छन्।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले करिब ४० वर्ष देखि निरन्तर लाग्दै आएको सस्ता बजार यसपटक अझ व्यवस्थित हुने बताएका छन्। उनका अनुसार यस क्षेत्रमै उत्पादन हुने साबुन, अगरबत्ती, डिटर्जेन्ट पाउडर, खाद्य पदार्थ लगायतका सामग्रीलाई बजारमा प्राथमिकताका साथ राखिनेछ।
अध्यक्ष भण्डारीले असोज ६ गते घटस्थापनाको दिन देखि जनकपुरधाम स्थित गोपाल धर्मशालामा सस्ता बजार सुरु हुने जानकारी दिएका छन्। साथै, आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालन गर्ने वातावरण बनाउन सम्बन्धित निकाय सँग पहल गर्ने विषयमा छलफल भएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्