१३ कात्तिक,काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथली स्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गर्नु भएको छ । प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु भएको हो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ ।
छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले बर्तालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुने जानकारी दिनुभयो । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्नसमेत टेवा पुग्ने उहाँको भनाइ छ ।
राजधानीको गुह्येश्वरी कमलपोखरी, थापाथलीलगायत नदी किनार र तलाउमा बर्तालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म सूर्य एवं छठी माताको पूजा आराधना सहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराण लगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारत कालमा द्रौपदी सहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ । (रासस)
आफ्नो प्रतिकृया दिनुहोस्